७७ प्रतिशत जिल्लाबासीमा सञ्चारको पहुँच



 

प्रताप बानियाँ, म्याग्दी

जिल्लाका ८८ हजार जनता सञ्चारको पहुँचमा पुगेका छन्। नेपाल टेलिकम म्याग्दीको आर्थिक वर्ष २०७३⁄७४ को रेकर्ड अनुसार कुल ८८ हजार ३९९ जना म्याग्दीबासी सञ्चार सञ्जालसँग जोडिएका हुन्। २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या १ लाख १३ हजार ६४१ रहेकोमा ७७ दशमलव ८ प्रतिशत नागरिक सञ्चारको पहुँचभित्र रहेको टेलिकम म्याग्दीले जनाएको छ।

टेलिकमका अनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन्। यसैगरी पोस्टपेड मोबाइल बोक्ने १ हजार ६७८, ल्यान्डलाइन टेलिफोनका ग्राहक १ हजार ३०६ र सीडीएमएका ५०९ जना ग्राहकहरू रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो।

ल्यान्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै १ हजार २२२ जना ग्राहक रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्यान्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन्। त्यस्तै एडीएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक रहेका छन्। भिस्याट टेलिफोनका भने जिल्लाभरी २६ जना ग्राहकहरू रहेको टेलिकमका प्रमुख शाहको भनाइ छ।
म्याग्दी जिल्लाको विभिन्न ठाउँमा गरी कुल ३१ ओटा बीटीएस सञ्चालनमा रहेकोमा मोबाइल २३, सीडीएमए ५ र वाईम्याक्सको ४ वटा टावर सञ्चालन गरिएको उहाँले बताउनुभयो।

सदरमुकामस्थित टेलिकमको कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ र ९ नम्बर वडामा मोबाइल फोनका लागि बीटीएस सञ्चालन गरिएको शाहले बताउनुभएको छ। बीटीएसतर्फ अन्नपूर्ण गाउँपालिकामा ६, रघुगंगामा २, मंगलामा ३, मालिकामा २ र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बीटीएसहरू सञ्चालनमा रहेको टेलिकम म्याग्दीका वरिष्ठ सहायक ईश्वरीप्रसाद आचार्यले बताउनुभयो। सीडीएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाईम्याक्स सेवाको नगरपालिकासहित मालिका र अन्नपूर्णमा बीटीएस जडान गरिएको उहाँले जानकारी दिनुभयो। यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको बताइएको छ।

चालू वर्षमा टेलिकम म्याग्दीले बीटीएस स्थापना गर्न विभिन्न ८ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ। भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसंख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी छ। जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ताहरू समेत रहेका छन् भने एउटै व्यक्तिले चार पाँच वटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ। टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ताहरू बढ्दै गएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्