तरकारी खेतीबाटै वार्षिक ६ लाख कमाइ

0
Shares

 

गणेश साम्पाङ, पाँचथर

कतिपयले कृषिलाई तल्लोस्तरको व्यवसायको रूपमा हेर्ने गर्दछन्। तर यसको विपरीत पाँचथर फिदिम २ और्खौले टोलकी सरस्वती ढुंगाना कृषि व्यवसाय गर्न पाएकोमा गर्व गर्छिन्।

सात आठ वर्ष पहिलादेखि व्यावसायिक तरकारी खेतीमा लागेकी सरस्वती ढुंगाना जिल्लामै सफल कृषकको रूपमा चिनिएकी छिन्। ढुंगानाले तरकारी खेती गरेर नाम मात्र होइन राम्रो दामसमेत कमाएकी छिन्। टमाटर, काउली, बन्दा, काँक्रा, सिमी र च्याउ खेतीमा लागेकी ढुंगानाले तरकारी खेतीबाट जीवनस्तर सुधार्न सक्ने बताइन्। सदरमुकामको छेउमा पिचबाटोले छोएको बारीमा लगाएका तरकारी खेतीबाट ढुंगानाले मनग्य आम्दानी गरेकी छिन्। पाँच जनाको परिवार रहेको ढुंगानाले तरकारी खेतीकै आम्दानीबाट दुई छोरालाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययन गराइरहेकी छिन्।

‘मेरो यही व्यावसायिक तरकारी खेतीको कमाइबाट बार्षिक ५⁄६ लाख कमाइ हुन्छ। दुई छोरालाई प्राविधिक पढाउँदै छु। यसैको कमाइबाट मैले काठमाडौंमा २० लाखमा एउटा घडेरी किनेको छु।’ –ढुंगानाले भनिन्।

सरस्वती ढुंगानाजस्तै सोही टोलका भवानी काफ्लेले पनि व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन्। जिल्ला कृषि विकास कार्यालय पाँचथरबाट टनेल र हाते ट्रइक्टरलगायत अन्य र प्राविधिक सहयोग लिएर व्यावसायिक खेतीमा लागेका काफ्लेले वार्षिक ६⁄७ लाख कमाउँदै आएको बताए। कृषि विकास कार्यालयको प्राविधिक सहयोग तथा अनुदानबाट व्यावसायिक खेतीमा लागेका ढुंगाना र काफ्ले दुवै जनाले उत्कृष्ट राष्ट्रपति पुरस्कार पाइसकेका छन्।

जिल्लामा व्यावसायिक तरकारी खेती गरेर धेरैले जीवनस्तर उकास्न सकेको कृषि विकास कार्यालय पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो। जिल्लामा अलैंचीपछि बढी नगद भित्त्याउने वस्तु नै तरकारी हुन्। ‘तर पनि कृषकलाई राज्यले सबभन्दा तल्लोस्तरको मान्छे भनेर भन्छन्। कृषकलाई सम्मानित र मर्यादित शब्द प्रयोग गर्नुपर्छ।’ –किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले भन्नुभयो।

जिल्लाको सदरमुकाम फिदिम साविक भारपा ,थर्पु, नागी र अमरपुर गाविसका कृषक केही वर्षदेखि व्यावसायिक तरकारी खेतीमा जुटेका छन्। यी क्षेत्रका कृषकहरूले बेमौसमी टमाटर, बन्दा, करेला, मुला, आलु लगाउतका तरकारी खेतीबाट वार्षिक १० करोडभन्दा बढी रकम भित्रिने गरेको अधिकृत तिवारीले जानकारी दिनुभयो।