मकै उत्पादनमा दोब्बर बृद्घि भएपछि किसान उत्साहित



रामधन राई,खोटाङ ।
उन्नत जातका बीउको कारण मक्रै उत्पादनमा दोब्बर बृद्घि भएपछि खोटाङका किसान सोही बीउप्रति आकर्षित बनेका छन् ।

जिल्लाका हलेसी तुवाचुङ नगरपालिकामा पर्ने साबिकका बडहरे, च्यास्मिटार, दुर्छिम लगायतका किसानले मनोकामना–३ जातका मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले बृद्घि भएसँगै उक्त बीउप्रति आकर्षित बनेका हुन् ।

स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने र गेडाको वजन पनि दोब्बरले बढी फल्ने गरेको बडहरेकी गंगादेबी दाहालको भनाई छ ।

स्थानीय नमुना कृषक समुहकी सचिब समेत रहनुभएकी दाहालको अनुसार हाल सो स्थानका कृषक सोही जातका बीउ प्रयोग गर्न उत्साहित बनेका छन् ।

जिल्ला कृषि बिकास कार्यालय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनसँगको समन्वयमा नबकिरण सेवा समाज दुर्छिम तथा सवल परियोजनाको साझेदारीमा बितरण गरिएको बीउबाट मकै उत्पादनमा उल्लेख्य बृद्घि भएपछि किसानले स्थानीय जातको ठाउँमा मनोकामना–३ जातको मकै लगाउने निधो गरेको पारिजात कृषक समुहको अध्यक्ष जीवनाथ दाहलले बताउनुभयो ।

परियोजनाले सो क्षेत्रमा गठित लक्षित कृषक समुहहरुलाई बीउ बृद्घि र बिस्तारका लागि करिब १ सय २० केजी बीउ बितरण गरेको सवल परियोजनाका सिनियर जिल्ला संयोजक बसन्त श्रेष्ठको भनाई छ ।

सो बीउबाट उत्पादित मकैलाई बीउकै रुपमा मात्र प्रयोग गर्ने गरी उत्पादक कृषक समुहकै छलफलबाट मूल्य निर्धारण गरी बिक्रि बितरण गर्ने सर्त राखिएको छ । करिब १ किवण्टल बीउ लगाईएकोमा १० मेट्रिक टन थप मकै बीउको रुपमा उत्पादन हुने अनुमान गरिएको छ ।

मनोकामना–३ जातको मकै सो क्षेत्रका मौसम तथा हावापानी अनुकुल भएकाले उल्लेख्य उत्पादन हुने जिल्ला कृषि बिकास कार्यालय खोटाङका कृषि प्रसार अधिकृत फुलकुमार शाहले बताउनुभयो ।

अधिकृत शाहका अनुसार उन्नत जातका बीउको अधिक मात्रामा प्रयोग हुन थालेपछि उत्पादनमा दोब्बरले बृद्घि हुनका साथै खोटाङ जिल्ला पुर्बाञ्चलमै मकै बालीको हकमा पहिलो आत्मनिर्भर जिल्ला बनेको छ ।

जिल्लामा उत्पादन भएको बीउ ओखलढुंगा, उदयपुर, सोलुखुम्बु लगायतका जिल्लाहरुबाट समेत माग भईरहेको शाहको भनाई छ ।

जिल्ला कृषि बिकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सवल परियोजना, नबकिरण सेवा समाज, पत्रकार महासंघ, किसान समुह लगायतमा आबद्घ प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको टोलीले बडहरे र च्यास्मिटारमा गरिएको मकैको बीउ उत्पादन क्षेत्रको हालै अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उत्साहजनक रुपले मकैको बीउ उत्पादन भएको पाईएको सहभागी टोलीले जनाएको छ ।

मकै उत्पादनबाट किसानहरु सन्तुष्ट र सो बीउप्रति आकर्षित बनेको पाईएको प्रधान्मन्त्री कृषि आधुनिकीकरण परियोजना जोनका वरिष्ठ कृषि बिकास अधिकृत लक्ष्मीप्रसाद खरेलले जनाउनुभयो ।

खरेलका अनुसार सो क्षेत्रमा बिभिन्न जातका उन्नत जातका मकैका बीउ नै बढी प्रयोग हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्