७ हजारले प्रयोग गरे टेलिकमको सहुलियत भिडियो कल



काठमाडौं, (नेस)
नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेको कम्पनीले जनाएको छ। कम्पनीले अघिल्लो वर्षको असार ३१ गतेदेखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा शुरू गरेको थियो। टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएको थियो। साथै बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि २०७० माघदेखि एसएमएसको शुल्क प्रतिएसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको थियो।

यो सेवा लिनका लागि शारीरिक अपांगता भएका व्यक्तिले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्बाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्