ठेकदारले काम नगर्दा लिवाङ–मुसीकोट सडक निर्माण शुरु भएन



नरेन्द्र केसी,दाङ । रोल्पाको बागमारादेखि रुकुम मुसीकोट जोड्ने सडक निर्माणका लागि स्थानीय अगुवाहरुले निकै पहल गरे ।

रोल्पाको सदरमुकाम लिवाङबाट रुकुमको सदरमुकाम मुसीकोटसम्म जोडिने एक मात्र सडक ‘चुनवाङ–तातोपानी–चुन सडक’ ले लामो प्रयासपछि योजनामा प¥यो र दुइ करोड बजेट पनि बिनियोजन भयो ।

जसमा डेढ करोडमा टेण्डर सम्झौता भएको एक बर्ष पुग्न लागे पनि अहिलेसम्म सडक निर्माण शुरु भएको छैन ।
यो सडक निर्माणका लागि गत बर्ष आइडु निर्माण सेवाले डिभिजन सडक कार्यालयसँग सम्झौता गरेको थियो । सम्झौता गरेको तीन महिनाभित्रै काम शुरु गर्नुपर्ने कानूनी प्रावधान भए पनि एक बर्ष पुग्नलाग्दा पनि काम शुरु गरेको छैन ।

निर्माण कम्पनीलाई हप्तामा दुइपटक जसो पत्राचार गर्दा पनि काम शुरु नगरेको डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । ‘हामीले हप्तामा दुईपटकजस्तो लिखित आग्रह गरिरहेका छौं, फोनबाट त दिनदिनै काम शुरु गर्न भनिरहेका छौं’– उहाँले भन्नुभयो– ‘तर कम्पनीले काम थालेको छैन ।’ कारवाही गरेर भए पनि काम गराएरै छाड्ने उहाँले बताउनुभयो ।

तर, निर्माण कम्पनीले भने विभिन्न बहानाबाजी गरिरहेको स्थानीयको गुनासो छ । गत बर्ष काम गर्न नसकेको कम्पनीले नयाँ आर्थिक बर्षसँगै यस्ता योजनाहरु स्थानीय तहको माताहत जाने गरी तयारी भइरहेकाले काम गर्न नसकेको प्रक्रिया दिएको छ ।

‘गत बर्ष आफ्नै कारणले काम गर्न सकिएन’– कम्पनीका सञ्चालक विनोद ओलीले भन्नुभयो– ‘यो बर्षदेखि १२३ अन्तर्गत पर्ने यस्ता योजना स्थानीय तहमाताहत जाने भनेर मन्त्रालयमा छलफल चलिरहेकाले काम गर्न सकिएको छैन, डिभिजनले काम शुरु गर भनेको एक हप्ताभित्रै म जोडर लगेर काम शुरु गर्नेछु ।’

तर, डिभिजन प्रमुख थापाले भने निर्माण कम्पनीको यो बहानाबाजी मात्रै भएको बताउनुभयो । ‘यस्ता योजनाको बारेमा मन्त्रालयमा छलफल भएको साँचो हो तर त्यो सरकारको सरोकार हो निर्माण कम्पनीको होइन’– उहाँले भन्नुभयो– ‘निर्माण सम्झौताअनुसार कम्पनीले काम गर्नुपर्छ, कस्ता कानून बन्छ र भुक्तानी कहाँबाट हुन्छ, त्यो सरकारले गर्ने हो, यसमा कुनै समस्या हुँदैन ।’

मुसीकोट–लिवाङ सडक सञ्चालन गर्ने त्यस क्षेत्रका बासिन्दाको ५० बर्षदेखिको सपना हो । ‘२०२४ सालमा पञ्चायतले गाउँ फर्क अभियान थालेको बेला कर्मचारी गाउँमा जाँदासमेत स्थानीयले यही योजना टिपाएका रहछन्’– मुसीकोट १० रुकुमका स्थानीय अगुवा जीवन केसीले भन्नुभयो– ‘यो योजना टिपाउने भीमबहादुर खत्रीको अहिले निधन भइसक्यो तर सडक निर्माण गर्ने सपना अझ अधुरै छ ।’

रुकुम क्षेत्र नम्बर २ का सांसद जनार्दन शर्मा ‘प्रभाकर’को सिफारिसमा दुई बर्षअघि यो योजना परेको थियो । टेण्डर प्रक्रियामा जाँदा केही समय लागेकाले यो गत बर्षदेखि काम शुरु हुने स्थानीयले अपेक्षा गरे पनि निर्माण कम्पनीको ढिलाइ र डिभिजन सडकले कडाइ गर्न नसक्दा यति महत्वपूर्ण सडक निर्माण शुरु हुन नसकेको यो सडक योजना पार्न पहल गर्नुभएका मुसीकोट १० रुकुमका दीपक केसीले बताउनुभयो ।

चुनवाङ–मुसीकोट सडक नहुँदा रुकुमको चुनवाङका बासिन्दा गाडी चढेर जिल्ला सदरमुमकाम जान पाएका छैनन् । गाडीबाट जिल्ला सदरमुकाम जान उनीहरु रोल्पा–दाङ–सल्यानहुँदै रुकुम पुग्नुपर्ने बाध्यता छ । यो सडक निर्माण भएमा चुनवाङ र आसपासका बासिन्दा गाडी चढेर मुसीकोटसम्म जानसक्नेछन् भने दाङको घोराही–रोल्पाहुँदै रुकुम मुसीकोटसम्म पनि गाडी सञ्चालन गर्न सकिने छ ।

त्यसो त रोल्पाको सदरमुकाम लिवाङदेखि रुकुमको सदरमुमका मुसीकोटसम्म सडक सञ्जाल जोड्ने यो नै प्रमुख सडक हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्