पर्यटकीयस्थल ‘लभ्लीहिल’मा भौतिक पूर्वाधार निर्माण



प्रताप बानियाँ,म्याग्दी ।
पछिल्लो समय लभ्लीहिलका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–२ स्थत रहेको लभ्लीहिलमा पूर्वाधार निर्माण भएको छ ।

गत आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा लभ्लीहिलमा भौतिक पूर्वाधारको विस्तार गरिएको हो । झण्डै १२ लाख बढीको लगानीमा लभ्लीहिलमा पूर्वाधार विकास गरिएको छ ।

पर्यटन कार्यालयको पाँचलाख र स्थानीयको एकलाख ५० हजारसहित कुल ६ लाख ५० हजारको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरु निर्माण गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ ।

उक्त बजेटबाट ४२ मिटर दुई लाइनको रेलिङ, एकवटा गोलघर (भ्यु–प्वाईन्ट) र पाँचवटा ६ फुटको आरामदायी बेन्च डिपीसी गरी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताउनुभयो ।

यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि बेनपा–२ का नवनिर्वाचित जनप्रतिनिधिको पहलमा बेनी नगरपालिकाको साढे चारलाख र स्थानीयको एकलाख भन्दाबढी श्रमदानमा थप १४६ मिटर तीन लाइनको रेलिङ बनाइएको उहाँले जानकारी दिनुभयो ।

हालै लभ्लीहिलमा खबराका प्रदीप सापकोटाको सौजन्यमा फोहोर सङ्कलनका लागि भन्दै ४ ओटा ‘फोहोर मलाई’ नामक ड्रम समेत राखिएको अध्यक्ष कार्कीको भनाई छ । त्यस्तै शनिबार समितिका पदाधिकारी र स्थानीयले लभ्लीहिल आसपासको क्षेत्रमा भएको फोहोरको व्यवस्थापन गरी सरसफाई समेत गरेका छन् ।
पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बनेको छ । खबरामा रहेको लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्दै बन्दै जान थालेको छ ।

खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । बेनीबजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो ।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको बताइन्छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । लभ्लीहिलमा पुग्नका लागि पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना देखिन्छ ।

सदरमुकाम बेनी आसपासमा व्यस्त दैनिकीबाट विश्राम लिन, मुस्ताङ आवतजावत गर्ने स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकासमा ध्यान दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

अब बेनीबजार नजिकका क्षेत्रमा भएका सम्भावित क्षेत्रमा पूर्वाधारको विस्तार गरी मुस्ताङ घुम्न आउने पर्यटकलाई एकदिन भए पनि बेनीमै रोक्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्