रोकियो क्लिन फिड नीति



 

काठमाडौं , (नेस)
सरकारले साउन १ गतेबाट विदेशी टिभी च्यानलमा विज्ञापनरहित कार्यक्रम प्रसारण (क्लिन फिड) नीति लागू गर्ने पूर्व निर्णयलाई तत्कालका निम्ति स्थगित गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले सूचना प्रकाशित गर्दै उक्त नीतिमा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको भन्दै तत्कालका लागि कार्यान्वयन स्थगित गरेको जनाएको छ।

सरकारले साउन १ गतेदेखि क्लिन फिड लागू गर्ने सूचना जारी गरेपछि त्यसलाई कार्यान्वयन नगर्न भन्दै नेपाल केबल टेलिभिजन महासंघ नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाल माग गरेका थिए। उनीहरूले सरकारको निर्णय लागू भए डीटीएच कम्पनी र केबल टेलिभिजनबाट प्रसारण हुँदै आएका सबै किसिमका च्यानल बन्द गर्ने चेतावनी सरकारलाई दिएका थिए।

साथै क्लिन फिड नीति नेपालका निम्ति घातक हुने भन्दै इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) लागू नगर्न सुझाव दिएको थियो। नेपालमा धेरै सानो आकार र औसत प्रतिउपभोक्ता कर भएकाले क्लिन फिड लागू गर्न धेरै लगानी गर्नु व्यापारिक हिसाबले उपयुक्त नहुने भन्दै क्लिन फिड नीतिको कार्यान्वयन निश्चित रूपमा नेपालको नेटवर्क वितरण प्रणालीलाई डिजिटलाइजेसन गर्ने योजनाको लागि घातकसिद्ध हुने जनाएको थियो। राष्ट्रिय आमसञ्चार नीति, २०७३ मार्फत् २०७४ साउन १ गतेदेखि लागू हुने गरी विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण क्लिन फिड नीति लागू गर्ने तयारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्