चालू आवमा ९७ प्रतिशत भन्सार राजस्व उठ्यो



नेपाल समाचारपत्र,काठमाडौं ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सारमार्फत् २ खर्ब ३३ अर्ब २० करोड ४२ लाख ७० हजार रुपियाँबराबरको राजस्व संकलन भएको छ। भन्सार राजस्वको कुल लक्ष्यमा ९७ दशमलव शून्य १ प्रतिशत राजस्व असुली भएको भन्सार विभागले जनाएको छ।

जेठ मसात्सम्म भन्सार राजस्व असुली लक्ष्यभन्दा ५ दशमलव ३१ प्रतिशत बढी राजस्व उठेको भन्सार विभागका तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यले जानकारी दिनुभयो। यस अवधिमा लक्ष्यभन्दा करिब ११ अर्ब ७६ करोड ९० हजार रुपियाँ बढी संकलन भएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष राजस्व असुली ३८ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ।

देशका विभिन्न २३ वटा भन्सार कार्यालय र जाँचपास परीक्षण कार्यालयमार्फत् उक्त राजस्व रकम असुली भएको विभागले जनाएको छ। चालू आर्थिक वर्षमा २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार रुपियाँ राजस्व भन्सारमार्फत् संकलन गर्ने सरकारको लक्ष्य रहेको छ।

हालसम्मको भन्सार राजस्व असुली रकम चालू आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा १२ अर्ब ८४ करोड ४८ लाख १८ हजार रुपियाँले कम हो भने जेठ महिनासम्मको राजस्व असुली लक्ष्यभन्दा ५ दशमलव ३१ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। जसअन्तर्गत वैशाख महिनामा मात्र २१ अर्ब ४८ करोड १४ लाख ६० हजार रुपियाँ संकलन भएको छ।

चालू आर्थिक वर्षको यस अवधिसम्ममा ९ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेकाछन्। भन्सार विभागको तथ्यांकअनुसार त्रिभुवन विमानस्थल, तातोपानी, सर्लाही, सिराहा, राजविराज, विराटनगर र सुनसरी भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन्। वार्षिक रुपमा ५० अर्ब रुपियाँ बराबरको व्यापारिक कारोबार र झण्डै ४ अर्ब रुपियाँ राजस्व संकलन गर्ने तातोपानी भन्सार नाकाको राजस्व संकलन दुई वर्षदेखि शून्य छ।

विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा ८७ करोड ३७ लाख १५ हजार रुपियाँ कम राजस्व संकलन गरेको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले लक्ष्यभन्दा करिब ९ करोड ४३ लाख ८६ हजार रुपियाँ कम राजस्व असुल गरेको छ।

रसुवा, नेपालगन्ज, भैरहवा, जलेश्वर, कैलालीलगायतका भन्सार कार्यालयबाट भने लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ।

भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा ८ अर्ब ५१ करोड १८ लाख ३१ लाख रुपियाँसहित१७ दशमलब शून्य १ प्रतिशतले बढी राजस्व संकलन गरेको छ। लक्षित राजस्व अनुपातमा सबैभन्दा उच्च राजस्व संकलन गर्नेमा कोइलाबास भन्सार कार्यालय रहेको छ। उक्त भन्सार कार्यालयले ३ सय प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्