जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक मर्ज



नेपाल समाचारपत्र,काठमाडौं
जनता बैंक नेपाल र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिसन भई शुक्रबारदेखि एकीकृत कारोबार शुरू गरेका छन्। सिद्धार्थको जेठ १२ गते र जनताको जेठ १३ गते सम्पन्न विशेष साधारणसभाले एक्विजिसनमा जाने निर्णय गरे बमोजिम एकीकृत कारोबार शुरू गरेका हुन्।

बैंकको एकीकृत कारोबार नेपाल राष्ट्र बैंकका कामु भर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गर्नुभएको थियो। उक्त अवसरमा कामु गभर्नर शिवाकोटीले दूरदराजमा बैंकको पहुँच पुर्याई सेवा प्रदान गर्न सफल हुनुपर्ने बताउनुभयो।

त्यस्तै बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन कायम राख्दै मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा आधुनिक एवम् उत्कृष्ट बैंकिङ सेवा प्रदान गरी देश विकासको अभियानमा थप योगदान प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

साविक सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले बैंकको पुँजीगत आधार सुदृढ गर्दै आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गरी जनता बैंकलाई नेपालको एक अग्रणी बैंकको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। कार्यक्रममा बैंकर एसोसियसनका अध्यक्ष अनिलकेशरी शाह, डेभलपमेन्ट बैंक एसोसियसनका अध्यक्ष भरतराज ढकालले शुभकामना दिनुभएको थियो।

सिद्धार्थ डेभलपमेन्ट बैक प्राप्तिपश्चात जनता बंैक नेपालको चुक्ता पुँजी करिब ७अर्ब पुगेको छ भने बैंकको निक्षेप करिब ५० अर्ब र कर्जा ४५ अर्ब रुपियाँ पुगेको छ। बैंकको ११३ वटा शाखा, १८ वटा शाखारहित बैंकिङ र ६७ वटा एटीएम र ग्राहक संख्या करिब ५ लाख रहेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गाभ्न र गाभिने असार २० र कम्पनी रजिस्ट्रार कार्यालयले असार २५ गते अन्तिम स्वीकृति दिएको थियो। यसअघि जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिए थियो। जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच १ बराबर १ शेयर स्वाप रेसियो कायम भएको छ।

जनता बैंकसँगको एक्विजिसनपछि सिद्धार्थ डेभलपमेन्ट बैंकले सञ्चालक समितिमा २ जनालाई पठाएको छ भने डेपुटी सीईओको रूपमा सिद्धार्थ डेभलपमेन्ट बैंकका सीईओ अजयकुमार मिश्र रहने छन्।

प्रतिक्रिया दिनुहोस्