ढुंगाबाटै झण्डै ५ करोडको राजश्व संकलन



कृष्णउदास खनाल, वीरगन्ज ।  जिल्ला समन्वय समिति, पर्साले  पाँचवटा खोलाको बालुवा, गिट्टी र ढुङ्गा निकासीबाट रु ४ करोड ८० हजार राजस्व असुल गरेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा जिल्ला समन्वय समितिले करिब २५ प्रतिशत बढी राजस्व असुली गरेको हो।    अघिल्लो आर्थिक वर्ष २०७३÷ ०७४ मा करिब रु २ करोड ९० लाख मात्र राजस्व असुली भएकोमा यस आवमा दुई खोलामा बालुवा, गिट्टी, ढुङ्गा निकासीमा ठेक्का लागेकोले राजस्वमा करिब ९० लाख वृद्धि भएको जिल्ला समन्वय समिति, पर्साका लेखापाल मनोज तिवारीले बताए । पर्सामा यस चालू आवमा सिंगियाही, कर्जनिया, भेडहा, भलुवाही र जमुनिया खोलामा बालुवा, गिट्टी र ढुङ्गा निकासी ठेक्का लागेको थियो ।

जिल्लाको सिंगियाहीबाट रु २३, ०२, ५९५, कर्ज्नियाबाट रु १० लाख ३१ हजार ५ सय ९०, भेडहाबाट रु १ करोड ९ लाख  ४१ हजार १ सय १०, भलुवाहीबाट रु १ करोड ४४ लाख ८४ हजार २ सय ७८ र जमुनियाबाट रु ९१ लाख ६० हजार गरी कुल ३ करोड ७९ लाख १९ हजार ५ सय ७३ असुल गरेको जनाएको छ ।

जिल्ला समन्वय समिति, पर्साका अनुसार सिंगियाही र कर्ज्नियामा एउटै ठेकेदार रञ्जीत सिंह राजपूत, भवानीपुर, भेडहामा मोना कन्सट्रक्सन, भलुयाहीमा अशोक साह तेली र जमुनियामा राजकुमार साह बिर्ताले बालुवा, गिट्टी ढुङ्गा निकासी गर्ने ठेक्का पाएका थिए । गत जेठ ३१ देखि तीन महिनाको लागि खोलाजन्य सामग्री उत्खनन गर्न सरकारले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्