व्यवसायी मालीको योगदानमाथि चर्चा



नेपाल समाचारपत्र,काठमाडौं
व्यवसायी स्वर्गीय हिक्मतबहादुर मालीको जीवनका सफलता तथा योगदान विषयमा विभिन्न व्यक्तित्वको विचार एवम् मन्तव्य समेटिएको पुस्तक लोकार्पण भएको छ। संगीतकर्मी तथा समाजसेवीसमेत रहनु भएका मालीले ६३ वर्षे छोटो जीवनकालमा पुर्याएको योगदानको कदर पुस्तकमा मेटिएको बताउँदै उहाँलाई नजिकबाट चिन्ने व्यक्तित्व तथा जानकारले उहाँको कदर गर्नुभयो।

‘हिक्मतबहादुर माली – लगनशील व्यक्तित्वः सृजनात्मक पाइलाहरू’ नामक पुस्तकको लाकार्पण गर्दै पूर्वप्रधानमन्त्री केपी ओलीले माली व्यवसायी, समाजसेवी तथा संगीतकर्मी सबैको जीवनका प्रेरणाको स्रोत रहेको बताउनुभयो।

सहयोगी तथा अति मिलनसार माली विचार र भावनाले आफू नजिक रहेको बताउँदै कुशल व्यवस्थापक तथा अद्भुत् बहुमुखी प्रतिभाको धनी रहेको बताउनुभयो। मालीको स्वच्छताको प्रशंसा गर्दै उहाँले भन्नुभयो–‘चन्द्रमा जति नजिकबाट हेर्यो त्यसमा त्यति दाग देखिन्छ तर हिक्मत मालीलाई जति नजिकबाट नियाल्यो त्यति स्वच्छ देखिनुहुन्थ्यो।’

कार्यक्रममा बोल्दै मालीका बाल्यकालका मित्र तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मालीले नेपाली पेट्रोलियम व्यवसाय, चेम्बर अफ कमर्स तथा सम्पूर्ण बाणिज्य जगतको उत्थानमा योगदान पुर्याएको सम्झना गर्नुभयो। उहाँले मालीको योगदान तथा स्वच्छ छविको अनुशरण तथा प्ररणा नै मालीका लागि सम्झना तथा सम्मान हुने बताउनुभयो।

कार्यक्रममा हिक्मत मालीकी श्रीमती उर्मिला मालीले श्रीमानको असामयिक देहावसानले आफू शोकमा डुबेको बताउँदै उहाँको सत्कर्मको पाइलालाई सदा पछ्याउने बताउनुभयो। त्यस्तै अन्य वक्ताहरूले माली बहुमुखी प्रतिभाको धनी भएको बताउँदै माली भ्रष्टाचारको जालोले घाँटी न्याकेको समाजमा इमान्दारितापूर्वक काम गरेर पनि सफल हुन सकिने उदाहरण रहेको बताए।

कार्यक्रममा पूर्वमन्त्रीहरू नवीन्द्रराज जोशी, सुनील मानन्धर, अष्टलक्ष्मी शाक्य तथा राजेशकाजी श्रेष्ठ, डा. अन्जान शाक्यलगायत विभिन्न व्यवसायी तथा समाजसेवीले सम्बोधन गरेका थिए।

बुबा रामबहादुर तथा आमा हरिप्रिया मालीको गर्भबाट वि.स. २००९ सालमा जन्मिनुभएका मालीले एम.कम.सम्मको अध्ययन गर्नुभएको थियो। कालीमाटीस्थित माली पेट्रोल पम्पका सञ्चालक मालीले चेम्बर अफ कमर्स तथा पेट्रोलियम डिलर्स एसोसिएसनलगायतका संगठन तथा रोटरीलगायत संस्थाबाट समाजसेवा गर्नुभएको थियो। मालीको संगीतमा छुट्टै लगाव थियो, उहाँको स्वरमा दुई दर्जन गीत रेकर्ड गरिएका छन्। उहाँले गोरखा दक्षिण बाहुुलगायत उपाधि हासिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्