ल्यान्डलाइन फोन नयाँ प्रविधिमा रूपान्तरित



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन तथा ल्यान्डलाइन टेलिफोन सेवामा गुणस्तर अभिवृद्धि हुने गरी नयाँ प्रविधिमा रूपान्तरण गर्न थालेको छ।

ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले रूपान्तरणको कार्यको आरम्भ गर्नुभयो। उहाँले पुरानो टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपीमा आधारित उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो।

त्यसपछि ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ। आगामी दुई महिनाभित्रमा मुलुकका १ लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरूलाई आईपीमा आधारित उपकरणले प्रतिस्थापन गर्ने योजना रहेको टेलिकमकले बताएको छ।

त्यस्तै आगामी आर्थिक वर्षभित्रमा कुल ४ लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिले प्रतिस्थापन गरिसक्ने टेलिकमको योजना छ। त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आईपीमा आधारित प्रविधिमा रूपान्तरण गर्दै लगिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।

टेलिकमका अनुसार आईपीमा आधारित उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ। यस प्रविधिअन्तर्गतका एक्सचेन्जबाट ग्राहकको मागअनुरूप एडीएसएल लाइन उपलब्ध गराउनसमेत सम्भव हुने बताइएको छ।

यसबाट भविष्यमा ल्यान्डलाइन सेवामा आधारित आईपी टिभी, भिडियो अन डिमान्डजस्ता सेवा समेत प्रदान गर्न यसले मद्दत पुग्ने बताइएको छ।

ल्यान्ड लाइन सेवाको स्तरोन्नती कार्यको आरम्भ गर्दै कम्पनीका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रविधिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा सुविधा दिएर आक्रामक बजार रणनीति बनाउन टेलिकमलाई निर्देशन दिनुभयो।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २५ वर्षअघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई विकासक्रम अनुरूप आधुनिक आईपीमा आधारित प्रविधिमा रूपान्तरण गरी माग अनुरूपको भ्यालु एडेड सेवासमेत वितरण गर्न सकिनेगरी स्तरोन्नति थालिएको बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्