डिभिजन सडक र ठेकेदारको लापरबाही सास्ती



 

पुष्कर बुढाथोकी, भक्तपुर

डिभिजन सडक कार्यालय भक्तपुर र ठेकेदारको लापरवाहीका कारण कौसलटार–बालकोट सडक बन्द हँुदा बिरामी लिन गएका एम्बुलेन्ससमेत रित्तै फर्किएको छ। असारको मध्यमा बजेट सिध्याउनकै लागि सूर्यविनायक नगरपालिका–२ बालकोट सडक कालोपत्र गर्ने भन्दै सडक बन्द गरेपछि बेहुला बेहुली समेत हिडेरै घर पुगेका छन्।

कौसलटार–बालकोट जोड्ने पुलदेखि बालकोट हाइटसम्म कालोपत्र गर्ने भन्दै आइतबारदेखि नै सडक बन्द गराए पनि कालोपत्र नगरी सडक बन्द गर्दा स्थानीयले सास्ती भोग्नु परेको छ। सडक कालोपत्र गर्ने ठेकेदार कम्पनीले पुलमा कालोपत्र गर्ने मेसिन राखेर सडकमा आवागमन बन्द गराएपछि सोमबार बालकोट हाईटमा बिरामी लिन गएको एम्बुलेन्ससमेत रित्तै फर्किएको बालकोट–२ का रामेश्वर थापाले बताउनुभयो। उहाँले भन्नुभयो–‘मध्य वर्षामा बजेट सिध्याउन कालोपत्र गर्न खोज्दैछन्, हिजो साँझ पानी परिरहेकै बेलामा कालोपत्र गर्न लाग्दा जनताले बिरोध गरे, आज दिनभर घाम लागे पनि काम गरेनन्, सडक भने बन्द गराउँदा न एम्बुलेन्स नै आउन पायो, न त कुनै सवारी साधन नै।’

सडक बन्द भएपछि बेहुला बेहुली बोकेर आएको सवारी साधन नै रोकिँदा बेहुला बेहुली हिडेरै बालकोट हाईट गएका छन्। सडक बन्द भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत ललितपुरको टीकाथली घुमेर जान थालेको प्रहरी प्रभाग बालकोट प्रहरीले जानकारी दिएको छ। भीभीआईपी सडक र बस्ती भए पनि सडक बन्द भएपछि नेता, सरकारी उच्च ओहोदाका व्यक्तिदेखि स्थानीय बासिन्दा समेतले सास्ती खेप्नु परेको छ। बालकोट हुँदै सिरुटार जाने वैकल्पिक सडकको रूपमा रहेको चारदोबाटो बालकोट सडक साधुरो र घण्टौ जाम हुन थालेपछि बालकोट र सिरुटारका बासिन्दाको दैनिकी नै अस्तव्यस्त बनेको छ।

बालकोट–२ का फर्निचर व्यवसायी उद्धब ढकालले हिजो राती सातबजे धुलो माटोमाथि नै मापदण्ड विपरित कालोपत्र गर्न अलकत्रा हाल्दा भारी वर्षाले रातभरी नै बगाएको बताउनुभयो। उहाँले भन्नुभयो–‘बजेट सिध्याउन हतार–हतार वर्षामा सडक बन्द गराएर कालोपत्र गर्न खोजिँदैछ, माटोमाथि नै कालोपत्र गर्न थालेपछि स्थानीयले विरोधसमेत गरेका छन्, सडक कार्यालयका इन्जिनियर फर्किरै आउँदैनन्, यस्तो सडक के काम, जनताले मात्रै दुःख पाए।’

काम नगरे पनि सडक बन्द गर्दा स्थानीयले निकै सास्ती खेप्नु परेको बताउँदै उहाँले एम्बुलेन्स र दमकलसमेत जान नसक्ने अवस्था सिर्जना गर्नु सडक कार्यालय र ठेकेदारको लापरबाहीको पराकाष्ट भएको बताउनुभयो। बालकोट–२ कै स्थानीय पुरुषोत्तम ढकालले सडक तत्काल खुलाएर सञ्चालनमा नल्याए भोलिदेखि आन्दोलन गर्ने बताउनुभयो।

सूर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष कमलनाथ आचार्यले भने तीन दिनदेखि आफूले सडक कार्यालयका कर्मचारीलाई छिटो कालोपत्र गरेर सडक खुलाउन आग्रह गरे पनि बेवास्ता गरेको बताउनुभयो। जनप्रतिनिधी भनेर सबैले गुनासो र आक्रोस पोख्न आएको बताउँदै उहाँले कालोपत्र पनि नगर्ने र सडक पनि बन्द गर्ने ठेकेदारको लापरबाहीले जनताले दुःख पाएको बताउनुभयो।
करिब ५ करोड रुपियाँको लागतमा गत वर्ष टेन्डर भएको उक्त सडक एकवर्ष बित्दा पनि ठेकेदारले विस्तार कार्य सम्पन्न नगरी वर्षामा हतार–हतार कालोपत्र गर्न लागिएको हो। यसबारे जिज्ञासा राख्दा ठेकेदार सम्पर्कमै आएनन् भने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरूप्रसाद अधिकारीले भने अबको तीन दिन अझै सडक बन्द हुने र कालोपत्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्