रैराङ हाइड्रोपावरमा स्थानीयबासीलाई शेयर



रविन भट्टराई, ताप्लेजुङ

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ताप्लेजुङ र पाँचथरका स्थानीयका लागि ५ लाख ६० हजार कित्ता शेयर जारी गरेको छ। आयोजना प्रभावित हुने साविकका पाँचथरको थर्पु र ताप्लेजुङका साब्लाखु गाविसका स्थानीयबासीका लागि १ सय रुपियाँ दरका शेयर जारी गरेको हो।

कम्पनीका कुल शेयरमध्ये २ लाख २४ हजार कित्ता शेयर ती क्षेत्रका बासिन्दालाई दिने कम्पनीले जनाएको छ। त्यस्तै ३ लाख ३६ हजार कित्ता शेयरमा भने पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाले साधारण शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओका लागि असार २३ गतेसम्मको समय दिइएको छ। तर, आवश्यक मात्रामा आवेदन परेमा आईपीओ असार ८ गते नै बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओमा सर्वसाधारणले सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखाबाट आवेदन गर्न सक्नेछन्। त्यस्तै माछापुच्छ«े बैंकको फिदिम शाखा, एनआईसी एसिया बैंकको फिदिम शाखा, एनएमबी बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत शेयरमा आवेदन गर्न सकिनेछ।

ताप्लेजुङ र पाँचथरस्थित इवा खोलामा निर्माण भइरहेको रैराङ हाइड्रोपावर निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको आयोजना प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘आयोजना २०७४ माघ मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने छ।

यसका लागि कम्पनीले २०७३ कात्तिकबाट विभिन्न ठेकेदार कम्पनी परिचालन गरेको छ।’
आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलब ३ क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी ९ दशमलब ९ मेगावाट क्षमताको विद्युतशक्ति उत्पादन गर्नेछ। उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको अमरपुर सब–स्टेशनसम्म पुर्याई त्यहाँबाट राष्ट्रिय ग्रीड प्रणालीमा समाहित गरिनेछ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७० वैशाख २९ गते विद्युत् खरिद बिक्री सम्झौता भएको थियो।

इवाखोला आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १६० करोड रुपियाँ लाग्ने वित्तीय प्रक्षेपण गरी आयोजनाको निर्माण कार्य थालनी भएको थियो। आयोजनाको कुल लगानीमध्ये ३५ प्रतिशत कम्पनीको स्वः लगानी तथा ६५ प्रतिशत बैंकको ऋण रहेको छ।

प्रतिक्रिया दिनुहोस्