तमोर जलाशययुक्त आयोजना अगाडि बढाउन स्थानीयको माग

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् आयोजना तत्काल अघि बढाउन आयोजना क्षेत्रका स्थानीय बासिन्दाको तर्फबाट ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटाका २६ वटा व्यक्ति र संस्थाले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। प्रदेश नम्बर १ को समृद्धिका लागि उच्च सम्भावना बोकेको तमोर जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने भन्दै स्थानीयबासीले उक्त ध्यानाकार्षण पत्र बुझाएका हुन्।

नेकपा एमालेका केन्द्रीय सचिव एवम् ताप्लेजुङबासी योगेश भट्टराई, नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् ताप्लेजुङबासी पर्शु कार्की, पाँचथरका सांसद अइन्द्रकुमार नेम्वाङ, नेकपा एमाले केन्द्रीय कमिटी संघीय मामिला विभागका सचिव एवम् ताप्लेजुङबासी शिव गुरुङ, नेकपा एमाले केन्द्रीय कमिटी जलस्रोत तथा ऊर्जा विभागका सदस्य एवम् तेह्रथुमबासी प्रकाश दुलाल, तमोर जलाशययुक्त आयोजना सरोकार समिति पाँचथरका अध्यक्ष नरबहादुर खड्का र तमोर जलाशययुक्त आयोजना सरोकार समिति तेह्रथुमका महासचिव मोहन डाँगीलगायतका सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

मुलुकलाई लोडसेडिङमुक्त गर्न र विद्युत्मा आत्मनिर्भर बनाउन तत्काल ठूला जलाशययुक्त आयोजना अगाडि बढाउने ऊर्जा मन्त्रालयको प्रतिबद्धता अनुरूप विद्युत् प्राधिकरणले कम्पनी मोडलमा तमोर जलाशययुक्त आयोजना निर्माणको काम अगाडि बढाउनुपर्ने स्थानीयको माग रहेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी भित्र्याउनका लागि नेपालको पानी, जनताको लगानी अवधारणा अनुसार तमोर आयोजना क्षेत्रका बासिन्दाबाट सो आयोजनाका लागि प्रत्येक घरधुरीबाट १ लाख रुपियाँसम्म लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

बूढीगण्डकी आयोजनाभन्दा तमोर जलाशययुक्त आयोजना आर्थिक रूपले सस्तो, सामाजिक रूपले कम विस्थापन, वातावरणीय हिसाबले पनि न्यून वातावरणीय प्रभाव र करिब आधा लागतमा बूढीगण्डकी आयोजना बराबरमै विद्युत् उत्पादन हुने देखिन्छ। बूढीगण्डकी आयोजनाबाट १० हजार ४ सयभन्दा बढी घर विस्थापित हुने देखिएकोमा तमोर जलाशययुक्त आयोजनाबाट जम्मा १ सय २६ घरधुरीमात्र विस्थापित हुने अध्ययनमा देखिएको छ।

तमोर जलविद्युत् आयोजनाले निर्माणाधीन काबेली ‘ए’ र तल्लो हेवाखोला जलविद्युत् आयोजनालाई विस्थापित गर्ने हुँदा ती आयोजनाको वार्षिक विद्युत् उत्पादन क्षतिपूर्ति उपलब्ध गराएर तमोर आयोजना तत्काल अगाडि बढाउन स्थानीयको सरकारसंँग माग गरिएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८५ मा कोशी नदी जलाधार विकास गुरुयोजनामा उल्लेख गरेको १३ वटा ठूला आयोजनामा तमोर जलाशययुक्त आयोजना पनि एक हो। नेपाल विद्युत प्राधिकरणले गरेको फिजिविलिटी अध्ययन प्रतिवेदन अनुसार नदिमा २ सय ५ मिटर अग्लो बाँध बनाएर ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने छ। उक्त प्रतिवेदनअनुसार आयोजनाको बाँध २ सय ५० मिटरसम्म बढाउने हो भने यसको विद्युत् उत्पादन क्षमता १२ सय मेगावाट र ३ सय मिटर अग्लो बाँध बनाउँदा जडित क्षमता २ हजार ५ सय ६५ मेगावाट हुन आउँछ। यसबाट वार्षिक ४ हजार ९ सय ६८ दशमलब ५६ गिगावाट आवर विद्युत् निकाल्न सकिन्छ।

मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र, २०७२ मा प्रस्तावित ११ वटा जलाशययुक्त आयोजनामा यस आयोजनालाई ८औं प्राथमिकतामा राखिएको छ। उक्त अवधारणापत्र अनुसार यस आयोजनाको क्षमता ६ सय ९२ मेगावाट रहने र वि.सं. २०८२ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको थियो। प्राधिकरणले विभिन्न क्षमतामा अध्ययन गर्दा यो आयोजना ७ सय ६३ मेगावाट भन्दा ठूलो बनाउँदा मात्र आकर्षक हुने देखिएपछि यसको क्षमता ७ सय ६३ मेगावाट कायम गर्न गत फागुन १९ गते आवेदन गरेको छ।

Skip This