बीबीआईएन सम्झौता खारेज गर्न माग



गोकुल घोरसाइने, बारा

भारतलगायत सार्क क्षेत्रका चार राष्ट्रबीच समान हैसियतमा यातायात र ढुवानी साधन सञ्चालन गर्न दुई वर्षअघि भएको बीबीआईएन सम्झौता हितमा नभएको भन्दै नेपाली व्यवसायी खारेजीको माग गरेका छन्।

सिमरामा तराई यातायात व्यवसायी संघको १२औं साधारणसभामा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटलगायतले बीबीआईएन सम्झौतापछि नेपालमा भारतीय व्यवसायी हावी बनेको र स्थानीय व्यवसायी धरासयी बन्दै गएको भन्दै सरकारसंँग सम्झौता खारेजीको माग गर्नुभयो।

सार्क राष्ट्र मा ढुवानी र सवारी साधन व्यवसायीको समान हैसियतमा यस क्षेत्रमा सहज पहँुच बढाउने उद्धेश्यले नेपाल, भारत बंगलादेश र भुटान सरकारबीच बीबीआईएन सम्झौतामा भएको थियो। ‘नेपालीले भारतीय र अन्य राष्ट्रका व्यवसायीसँंग समान हैसियतमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन, अध्यक्ष रानाभाटले भन्नुभयो–‘लगानी, दक्षतासंँगै बन्दरगाहमा समेत उनीहरूकै बलियो पहँुच छ। ’ कार्यक्रममा महासंघका महासचिव राजेन्द्र श्रेष्ठले पनि बीबीआईएन सम्झौतापछि नेपाली व्यवसायीले भारतमा समान हैसियतमा काम गर्न नपाएको बताउनुभयो। ‘अहिले पनि नेपाली मालबहाक ढुवानी साधनको भारतीय भूमिमा सहज रूपमा जान सक्दैनन्, भारतीय ढुवानी साधन भने निर्वाध रूपमा नेपाल प्रवेश पाइरहेका छन्।’

नेपाली साधन भारतीय सिमाबाट १५ किलोमिटरभन्दा भित्र जानु परे राजदूताबासबाट अनुमति लिनुपर्ने तर भारतीयलाई भने त्यस्तो प्रावधान नलाग्ने गरेको अवस्था रहेको उहाँको भनाइ छ। महासचिव श्रेष्ठले भारतलगातय तेस्रो मुलुकबाट नेपाल भित्रिने सामान भारतीय व्यवसायीले नै ढुवानी गर्दै आएको बताउँदै अहिलेको प्रावधान अनुसार भारतीय बन्दरगाहसम्म पुगेर नेपाली व्यवसायीले सामान ल्याउन सक्ने अवस्था नरहेको बताउनुभयो।

नेपाल ढुवानी साधन कलकत्ता बन्दरगाहमा जाँदा खाली जानुपर्ने अवस्था रहेको भन्दै सम्झौता अनुसार प्रतिस्पर्धा गर्नु पर्दा सरकारले भारतीय व्यवसायीले पाउँदै आएको मूल्यमा ढुवानी साधन पाउनुपर्ने व्यवस्था मिलाइ दिन पनि माग गर्नुभयो। महासचिव श्रेष्ठले असमान भएको भन्दै भुटान सरकारले ३ महिनाअघि सम्झौता खारेज गरेको र बंगलादेशमा पनि व्यवसायीले विरोध गर्दै आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्