भारु सटहीमा अझै सहमति जुट्न सकेन



दीपेन्द्र थापा, काठमाडौं

भारतले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही गर्ने गरी प्रस्ताव राखेको छ। प्रतिबन्धित भारु सटहीबारे छलफल गर्न शनिबार नेपाल आएको रिजर्व बैंक अफ इन्डिया (आरबीआई) की कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वको टोलीले उक्त प्रस्ताव राखेको हो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले आरबीआईको टोलीसँग गरेको छलफलमा उक्त प्रस्ताव राखिएको हो। छलफलमा भारतीय पक्षले चार हजार पाँच सय भारुसम्म मात्रै साट्ने प्रस्ताव गरे पनि राष्ट्र बैंकका अधिकारीले भने प्रतिव्यक्ति २५ हजार भारुसम्म सटही गर्ने प्रस्ताव गरेको बताइएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘आइतबारका लागि छलफल त्यतिमानै टुंगियो सोमबार थप छलफल जारी रहने छ, समस्या समधान हुनेमा विश्वस्त रहेका छौं।’

खासै प्रगति भएको छैन हामी हाम्रो अडानमा कायम छौं भने भारतीय पक्ष थोरै रकम सटही गरेर समस्या समधानको बाटो खोजिरहेको छ, यो प्रस्तावले आम नेपालीको हितमा छैन त्यसैले थप छलफलमा छौं, शिवाकोटीले भन्नुभयो । पन्तकै नेतृत्वमा एक महिना अघि भारु सटहीबारे अध्ययन गर्न पहिलोपटक भारतीय पक्ष नेपाल आएको थियो।

अनधिकृत र अवैध कालोधन निर्मूल पार्ने नाममा भारत सरकारले गत कात्तिक २३ गते पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो। भारतले नेपालमा साना दरका नोटमासमेत कडाइ गरेपछि भारु संकट थप जटिल बनेको हो। राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ७ करोड ८४ लाख हजार र पाँचसय दरका भारु रहेको छ भने बैंकिङ प्रणाली बाहिर ठूलै परिणममा हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्