काठमाडौं ।
दसैं सकिएसँगै कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्य घटाएको हो।
संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटाएको जनाएको छ।
नयाँ मूल्यअनुसार अब जिउँदो कुखुरा प्रतिकिलो २८० रुपैयाँमा बिक्री हुनेछ। यसअघि यसको मूल्य प्रतिकिलो २९० रुपैयाँ थियो। त्यस्तै, तयारी कुखुराको मासुको मूल्य प्रतिकिलो ४०० रुपैयाँबाट घटाएर ३८५ रुपैयाँ कायम गरिएको छ।
संघका अनुसार दसैंपछि बजारमा कुखुराको मासुको माग र खपत घटेकाले मूल्य समायोजन गरिएको हो। दसैंका बेला उपभोक्ताले कुखुराको मासुभन्दा खसीबोकाको मासुलाई बढी प्राथमिकता दिने गरेका छन्।
त्यसैगरी, दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका धेरै मानिस अझै फर्किनसकेकाले पनि बजारमा उपभोक्ताको चहलपहल कम छ। उपत्यकामा मानिसको उपस्थिति घट्दा कुखुराको मासुको मागमा कमी आएको संघको भनाइ छ।
चाडपर्व सकिएपछि बजारमा माग घटेसँगै कुखुराको मासुको मूल्यमा समेत गिरावट आएको हो।











प्रतिक्रिया