काठमाडौं ।
दशैं–तिहारलाई लक्षित गर्दै नेपालका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन कम्पनीले ग्राहक आकर्षित गर्न छुट, क्यासब्याक, एक्सचेन्ज बोनस, शून्य ब्याजदरको किस्ता र उपहारका योजना सार्वजनिक गरेका छन् । परम्परागत पेट्रोलियम मोटरसाइकल तथा स्कुटरदेखि विद्युतीय दुईपाङ्ग्र्रे र चारपाङ्ग्रे सवारीसाधनसम्मका अफरले चाडपर्वको बजारलाई प्रतिस्पर्धात्मक बनाएका छन् ।
कम्पनीहरूले सवारीसाधनको मूल्यमा प्रत्यक्ष छुट दिनुका साथै पुरानो सवारीसाधन साटेर नयाँ खरिद गर्ने सुविधा, निःशुल्क सर्भिसिङ, वारेन्टी विस्तार, एसेसरिज र लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसरसमेत दिएका छन् । विद्युतीय सवारीसाधनतर्फ भने क्यासब्याक, चार्जर, बीमा र अन्य सहुलियतलाई बिक्री प्रवद्र्धनको मुख्य आकर्षण बनाइएको छ ।
उपलब्ध योजनाहरूमा सुजुकीले एक लाख रुपियाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस, होन्डाले एक लाख रुपैयाँसम्म जित्ने अवसर, बजाज चेतकले एक लाख रुपैयाँसम्म क्यासब्याक तथा जीडब्लुएमले विद्युतीय कारमा तीन लाख रुपैयाँसम्मका सुविधा घोषणा गरेका छन् ।
सुजुकी ः नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले ‘उत्सव नयाँ, राइड नयाँ’ योजना ल्याएको छ । यसअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपियाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाइनेछ । साथै, शून्य ब्याजदरको फाइनान्सिङ वा ३६ महिनासम्मको कम ईएमआई सुविधा उपलब्ध गराइएको छ । भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ लगायतका मोडलमा योजना लागू हुने कम्पनीले जनाएको छ ।
होन्डा ः स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ । नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत एक लाख रुपियाँसम्म नगद जित्ने अवसर पाउनेछन् । कम्पनीले हरेक साता सातै प्रदेशबाट एक–एक जना विजेता छनोट गर्ने जनाएको छ । यस योजनाको विशेष पक्षका रूपमा ग्राहकले जितेको रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्ने कम्पनीको घोषणा छ ।
बजाज चेतक ः बजाजको विद्युतीय स्कुटर चेतक खरिद गर्ने ग्राहकलाई लक्षित ‘चेतक फेस्टिभ फाइभ’ योजनामा शून्य ब्याजदरको ईएमआई, एक लाख रुपैयाँसम्म क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्मको ईएमआई भुक्तानी सुविधा तथा निःशुल्क प्रिमियम एसेसरिज समावेश छन् । योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।
टीभीएस ः जगदम्बा मोटर्सले ‘अचम्मैको महा एक्सचेन्ज’ मेला आयोजना गरेको थियोछ । भृकुटीमण्डपमा सम्पन्न मेलामा पुराना सवारीसाधन साटेर नयाँ खरिद गर्ने सुविधा दिइएको थियो । मेलामा टीभीएस एनटर्क १५० र अपाचे आरटीआर २०० फोरभीका नयाँ संस्करणसमेत सार्वजनिक गरिएका थियो । एनटर्क १५० को मूल्य तीन लाख ६९ हजार नौ सय र अपाचे आरटीआर २०० फोरभीको परिचयात्मक मूल्य चार लाख ५९ हजार नौ सय रुपियाँ तोकिएको छ ।
जेलियो ईभी ः विद्युतीय स्कुटर ब्रान्ड जेलियोले नेपालमा उपलब्ध आफ्ना चारवटै मोडलमा १५ हजार रुपियाँसम्म छुट घोषणा गरेको छ । खरिद योजनासँगै फाइनान्सिङ, एक्सचेन्ज, टेस्ट राइड तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
भेस्पा ः नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा स्कुटरका विकल्प थपेको भए पनि उपलब्ध विवरणमा यस मोडलका लागि छुट्टै दशैं–तिहार छुट वा क्यासब्याकको रकम उल्लेख छैन ।
दुईपाङ्ग्रे सवारीसाधनमा जस्तै विद्युतीय कारको बजारमा पनि कम्पनीहरूले विभिन्न सुविधा सार्वजनिक गरेका छन् ।
जीडब्लुएम ः ‘गो विथ मोर’ योजनाअन्तर्गत ओरा ५ ईभी खरिदमा दुई लाख रुपियाँसम्म र हावल जोलियन म्याक्स ईभीमा तीन लाख रुपियाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनामा निःशुल्क पूर्ण बीमा, सडक दस्तुर, अतिरिक्त टायर, सात किलोवाटको चार्जर, नगद छुट, एक्सचेन्ज मूल्यांकन र वित्तीय सुविधा समावेश छन् । योजना काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक विक्रेता केन्द्रबाट उपलब्ध हुने जनाइएको छ ।
एमजी ः जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर टोमहक ईभी सार्वजनिक गरेको छ । यसको घोषित मूल्य ६१ लाख ९९ हजार रुपियाँ छ भने पहिलो ५० ग्राहकका लागि ५७ लाख ९९ हजार रुपियाँको विशेष मूल्य राखिएको छ । यो प्रारम्भिक ग्राहकका लागि दिइएको मूल्य सुविधा हो; यसलाई सबै ग्राहकका लागि लागू हुने सामान्य चाडपर्व छुटका रूपमा बुझ्नु हुँदैन ।
यस वर्षका योजनामा विद्युतीय सवारीसाधनलाई आर्थिक सहुलियतसँग जोडेर प्रवद्र्धन गर्ने प्रयास देखिन्छ । बजाज चेतकले लामो अवधिको वारेन्टी र किस्ताबन्दी, जेलियोले सीमित रकमको छुट तथा जीडब्लुएमले बीमा, चार्जर र सडक दस्तुरसमेत समेटिएको प्याकेज प्रस्तुत गरेका छन् ।
यस्ता योजनाले प्रारम्भिक खरिद लागत कम गर्न सहयोग गर्न सक्छन् । तर विद्युतीय सवारी खरिद गर्दा ब्याट्रीको वारेन्टी, वास्तविक ड्राइभिङ रेन्ज, चार्जिङ पूर्वाधार, स्पेयर पाट्र्सको उपलब्धता र बिक्रीपछिको सेवासमेत तुलना गर्न आवश्यक हुन्छ । पेट्रोलियम सवारीसाधनमा भने इन्धन खर्च, सर्भिसिङ, पाट्र्स र पुनःबिक्री मूल्यलाई समेत हिसाबमा राख्नुपर्छ ।
ाडपर्वका अफरमा उल्लेख गरिएको अधिकतम छुट वा पुरस्कार सबै ग्राहकले पाउने सुनिश्चित लाभ होइन । कतिपय सुविधा निश्चित मोडलमा मात्र लागू हुन्छन् भने क्यासब्याक, एक्सचेन्ज बोनस र फाइनान्सिङमा छुट्टाछुट्टै सर्त हुन सक्छन् । त्यसैले ग्राहकले खरिद गर्नुअघि छुटपछिको वास्तविक मूल्य, डाउन पेमेन्ट, मासिक किस्ता, फाइनान्स शुल्क, वारेन्टी, निःशुल्क सर्भिसिङको दायरा र एक्सचेन्जमा पुरानो सवारीसाधनको मूल्य स्पष्ट बुझ्नुपर्छ । लक्की ड्र वा पुरस्कार योजनामा सहभागी हुन आवश्यक खरिद, दर्ता प्रक्रिया र पुरस्कार वितरणसम्बन्धी सर्तसमेत जाँच्नु उपयुक्त हुन्छ ।
समग्रमा २०८३ को दशैं–तिहारमा सवारीसाधन कम्पनीहरूबीचको प्रतिस्पर्धा मूल्य छुटमा मात्र सीमित छैन । नगद लाभ, एक्सचेन्ज, किस्ताबन्दी, निःशुल्क मर्मत र पुरस्कारलाई एउटै योजनामा जोडेर ग्राहक आकर्षित गर्ने प्रवृत्ति बढेको छ । उपभोक्ताका लागि सबैभन्दा लाभदायक अफर भने ठूलो पुरस्कारको विज्ञापनभन्दा पनि आफ्नो आवश्यकता, बजेट र सवारीसाधनको दीर्घकालीन सञ्चालन लागतसँग मेल खाने योजना हुनेछ ।











प्रतिक्रिया