तल्लो मनास्लु पर्यटन पदमार्गमा रेलिङ



सन्तोष अधिकारी, गोरखा

जिल्लाको तल्लो मनास्लु क्षेत्रको स्वाँराको भीरमा रेलिङ हालिएको छ। पर्यटन विकासको सम्भावना रहेको तल्लो मनास्लुको उक्त भीरमा पर्यटन विकास समिति पोखराको आर्थिक सहयोगमा रेलिङ हालिएको हो।

समितिले स्थानीय पाँचखुवा देउराली धार्चे लाप्राक जगत लार्के उपभोक्ता समितिमार्फत काम गरेको हो। ‘पर्यटन बोर्ड पोखराबाट हामीलाई ९ लाख ५० हजार रुपियाँ आएको छ’ उपभोक्ता समितिका अध्यक्ष इमानसिङ गुरुङले भन्नुभयो–‘ गाउँलेले पनि श्रमदान गरे। श्रमदान र पोखराबाट आएको गरेर जम्मा ११ लाख ९२ हजार रुपियाँ खर्च गरेर हामीले रेलिङ हालेका हौं। तीनसय १५ मिटर भीरको बाटोमा रेलिङ हालेका छौं। अब केही ठाउँमा मात्रै रङ लगाउन बाँकी छ।’

रेलिङसँगै सो क्षेत्रमा भूकम्पले भत्काएर हिँड्न गाह्रो भएको ठाउँमा गोरेटो बाटो समेत बनाइएको गुरुङले बताउनुभयो। भूकम्पपछि रेलिङ हालेको बाटोमा मानिस आवत जावत बन्द भएको थियो। उपभोक्ता समितिले गरेको कामको धार्चे मनास्लु पर्यटन विकास समितिले अनुगमनको काम गरेको छ। ‘काम कहाँ कस्तो भएको छ भनेर हामीले अनुगमन गरेका छौं’ धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले भन्नुभयो–‘बाटो साँघुरो छ, भीरको बाटो। पर्यटकहरू नेपाली हिँडे जसरी हिँड्न सक्दैन, काम राम्रोसँग भइरहेको छ। भीरको बाटो भए पनि एक मिटरदेखि डेढ मिटर चौडाई रहने गरी बाटो निर्माण भइरहेको छ।’ स्वाँराको भीरमा रेलिङ र गोरेटो बाटो निर्माण गरेपछि तल्लो मनास्लुको पर्यटकीय क्षेत्र धार्चे जोड्ने बाटोसमेत खुलेको छ। धार्चे लेक समुन्द्री सतहबाट ३२२० मिटर उचाईमा रहेको छ। सो क्षेत्रमा अहिले विभिन्न पाँच रङको लालीगुराँससमेत फुलिरहेको छ।
तल्लो मनास्लु क्षेत्रमा रुविनाला पास ४७२० मिटर, भच्चेक सिरान्डाँडा, धार्चे, बारपाक, लाप्राक, उहिया, काशिगाउँ, केरौंजा, मनकामना, गुम्दा, स्वाँरा, सौरपानी, लिगलिगकोटलगायतका पर्यटकीय क्षेत्र पर्दछन्। भूकम्पपछि ठप्प रहेको तल्लो मनास्लु क्षेत्रको पर्यटन विकास अहिले उकालो लागेको पर्यटन व्यवसायीसमेत रहेका इमान गुरुङको भनाइ छ।

‘अहिले पर्यटकको आवत जावत राम्रो छ’ उहाँ भन्नुहुन्छ ‘भूकम्पपछि मानिसको जनजीवन कस्तो छ भनेर अध्ययन गर्ने, सहयोग गर्ने विदेशी पनि आइरहेका छन्। धेरै जसो तल्लो, मनास्लुमा घुम्नैकै लागि पर्यटक आइरहेका छन्।’

तल्लो मनास्लु क्षेत्र जिल्लाको सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्र समेत हो। जिल्लाको अन्य क्षेत्रमा सडक सञ्जाल जोडिएकाले यस क्षेत्रलाई पदमार्गको रूपमा विकास गर्नका लागि काम शुरू गरिएको उहाँले बताउनुभयो। तल्लो मनास्लु क्षेत्रबाट बुद्ध हिमाल, मनास्लु हिमाल, गणेश हिमाल, श्रृङ्गी हिमाल, अन्नपूर्ण पहिलो, गंगापूर्ण हिमाल, उत्तर अन्नपूर्ण, माछापुच्छ«े, लम्जुङ हिमाल, बाह्रशिखर हिमाल, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौंथो, चुचुरा २९, हिमालचुली, दोर्जेलाक्पा हिमाल, जुगल हिमाल, लाङटाङ हिमाल, लिरु हिमाललगायतका प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्