रसुवागढी नाकामा महिनौंदेखि सयौं कन्टेनर अलपत्र



हेमन्त जोशी, काठमाडौं

नसंँगको दुई पक्षीय व्यापारका लागि प्रमुख मानिएको केरुङ नाकामा विभिन्न वस्तु लोड भएका पाँच सयभन्दा बढी नेपाली कन्टेनर महिनौंदेखि रोकिएका छन्। चीनबाट आयातित गरिएको सामान महिनौंदेखि बीच बाटोमा रोकिँदा करोडौं रुपियाँको सामान अलपत्र परेको व्यवसायीहरूको गुनासो छ। व्यापारी, भन्सार एजेन्ट र भन्सार कर्मचारीबीच कुरा नमिल्दा समस्या देखिएको व्यवसायीको हो।

ठूला व्यापारीले आफ्नो सामान सजिलै पास गरिरहेको भए पनि साना व्यापारी मर्कामा परेको उनीहरूको आरोप छ। दुई महिनाभन्दा बढीदेखि चीनबाट आयात भएका सामान भन्सारमा जाँचपास र स्वघोषणाका लागि व्यापारीहरू नआएकाले कन्टेनरहरू बाटोमा रोकेको रसुवागढी भन्सार कार्यालयमा प्रमुख केदार पनेरुले बताउनुभयो। चीनबाट आयातित सामान लोड भएका कन्टेनरहरूले राजस्व दाखिला, जाँचपास र वस्तु घोषणा गर्न आएका व्यवसायीको कन्टेनर सहज रूपमा आईरहेको पनेरुको दाबी छ।

कुनै व्यवसायीले जाँचपास गर्न ल्याउँदैनन भने त्यो व्यवसायीको कमजोरी भएको पनेरुले बताउनुभयो। तर, व्यवसायीहरूले त कर्मचारीसंँगको लेनदेन नमिलेर सामान अड्किएको हो भन्ने आरोप लगाएको विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै पनेरुले भन्नुभयो–‘कुनै पनि कर्मचारीले त्यस्तो काम नगरेको र व्यवसायीले पनि मसंँग त्यस्तो गुनासो गर्न आएका छैनन्, यदि कुनै कर्मचारीले कानुनविपरित काम गरेको प्रमाण भेटिए कारबाही हुन्छ। व्यवसायीले अफवाह फैलाउने र कर्मचारीलाई दोषी देखाउनुमा कुनै सत्यता छैन।’

नेपाल उद्योग बाणिज्य महासंघ, हिमालय सीमापार व्यवसायी संघलगायत स्थानीय व्यवसायीलाई वस्तुको सहज निकासी पैठारीका सम्बन्धमा छलफलका लागि आइतबारको बैठकमा बोलाएको पनेरुले जानकारी दिनुभयो।

भन्सारका कर्मचारीसँग लेनदेन नमिलेका कारण अवरोध पुगेको व्यवसायीको आरोप छ। पहिलो राजस्व कम तिरेर कमिसनमार्फत केही रकम बुझाएपछि सामान भन्सारबाट सजिलै पास हुन्थ्यो। तर, अहिले भन्सारमा कडाई र कर्मचारीले बढी रकम माग गर्दा सामानको मूल्यमा पनि असर गर्ने भएकाले व्यवसायीले सामान जाँचपासका लागि नलगेका व्यवसायीहरूको भनाइ छ। राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले आफू कहाँ व्यवसायीले आफ्नो सामान रोकिएको भन्ने गुनासो गरे पनि के कति कारणले रोकिएको हो आफूलाई जानकारी नभएको बताउनुभयो।‘रसुवागढीम रोकिएका कन्टेनरबाट सामान हराउने, पानीले भिजेर कुहिने जस्ता समस्या हामी कहाँ आएका छन् के कति कारणले समस्या भएको हो हामी भन्सार कार्यालयसंँग बुझ्छौ।’ उहाँले भन्नुभयो।

भन्सार विभागको अनुगमन शाखा प्रमुख गुणराज सुवेदीले भन्सारको प्रक्रियाअनुसार निकासी पैठारीकर्ताले मालवस्तु जाँचपासका लागि भन्सार यार्डमा घोषणा गर्नुपर्ने बताउनुभयो। घोषणा गर्ने दायित्व स्वयम् मालधनीको हुन्छ। उहाँहरूले घोषणा गरिसकेपछि कार्यविधि कानुन र भन्सार ऐनले निर्दिष्ट गरेको कानुनअनुसार स्थानीय भन्सार कार्यालय वस्तु जाँचपास गर्छ।

तर, हाल किन घोषणा हुन सकेका छैनन् वा कम घोषणा भएका छन् भन्ने सन्दर्भमा विभागको ध्यानाकर्षण भएको सुवेदीले बताउनुभयो। ‘केरुङ भन्सार कार्यालयलाई शिघ्र जाँचपास गरेर व्यापार सहजीकरण गर्न भन्सार विभागले निर्देशन दिईसकेको छ। केरुङ नाकामा कुनै समस्या रहेको जानकारी हामीले अहिलेसम्म पाइसकेका छैनौ’– प्रमुख सुवेदीले भन्नुभयो।

भन्सार यार्डमा आईसकेपछि सामानलाई सात दिनको अवधिसम्मका लागि कुनै शुल्क नलिएर राख्न पाउने सुविधा कानुनले दिएको छ। सात दिनदेखि ६० दिनसम्मका लागि निकासी पैठारीकर्ताले विलम्ब शुल्क तिरेर जाँचपासका लागि भन्सार यार्डमा राख्न पाउने कानुनी प्रावधान छ।

६० दिनभन्दा पछि पनि व्यापारी आफ्नो सामान घोषणा गर्न र जाँचपास गर्न आएनन् भने भन्सार कार्यालयले जाँचपास गराई लैजान सार्वजनिक सूचना जारी गर्छ। उक्त सूचनापछि पनि जाँचपास गर्न व्यापारी आएनन् भने सामान जफतसम्म गर्ने कानुनी अधिकार रहेको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्