अन्न बाली मासेर खेतमा केरा खेती



नेपाल समाचरपत्र
सिन्धुली
जिल्लाको खाङसाङ गाविसमा अन्न बाली मासेर स्थानीय किसान केरा खेतीतर्फ आकर्षित भएका छन्। केरा खेतीमा कम मेहनत र परिश्रम गर्दा पनि धेरै पैसा कमाउन सकिने भएकाले उनीहरू केरा खेतीतर्फ आकर्षित भएका हुन्।

खाङसाङ–४ खाङसाङबेंसीमा धान, मकै उब्जनी हुने खेतमा केरा खेती स्थानीय किसान खडानन्द पहाडीले शुरूआत गर्दा उहाँलाई छिमेकीले गाली गर्ने तर अहिले तिनै छिमेकीले उहाँको व्यवसायको सिको गर्दै आएका छन्। एक वर्ष अघि ओखलढुंगाको टोक्सेल र बल्खुबाट २ सय वटा केराको गाना किनेर ल्याएको भए पनि प्राविधिक ज्ञान नहुँदा ६० वटा विरुवा मरेको पहाडीको भनाइ छ। अहिले १ सय ४० वटा विरुवामध्ये सयभन्दा बढीमा कोसा लागिसकेको उहाँको भनाइ छ।
आफूले ओखलढुंगाबाट हाईब्रिड तिनचम्पा जातको केरा प्रतिगाना सय रुपियाँका दरले ल्याएको उहाँले बताउनुभयो। आफूलाई अन्न बालीमा नियमित गर्नुपर्ने दुःख र उपलब्धि कम भएको हुँदा पहिलोपटक २ रोपनी जग्गामा केरा लगाएको पहाडीको भनाइ छ। अब चैत–वैशाखमा फेरि ४ रोपनी जग्गामा केरा खेतीको विस्तार गर्ने योजना बनाई रहेको उहाँले बताउनुभयो। पहिला जाडो समयमा केरा ल्याएर रोप्दा नफस्टाएको र मरेको अनुभवले यसलाई गर्मी समयमा लगाउनु पर्ने थाहा पाएकाले अझै विस्तार गर्ने योजना रहेको बताउनुभयो।

एक घरीमा ८ देखि १५ हातासम्म केरा फल्ने भएकाले यो जातको केराबाट निकै आम्दानी लिन सकिने उहाँको भनाइ छ। एक हातामा १५ देखि २५ वटा कोसासम्म लाग्ने भएकाले किसानले एक वर्षदेखि १६ महिनाको अवधिमा प्रतिफल लिन सकिने भएको हुँदा अहिले पहिलो लटमा ३ लाखसम्म आम्दानी लिने सोचमा रहेको पहाडीको भनाइ छ। २ रोपनी जग्गामा फलेको अन्नले ६ महिना पनि खान नपुग्ने र केरा खेतीबाट ३ लाखसम्म आम्दानी लिन सकिने भएपछि परिवारको लागि खर्च गर्न, बालबच्चा पढाउन र थोरै पैसाको वचत गर्न पनि सकिने उहाँको अपेक्षो छ।
अब बिक्रीको चरणमा रहेको केराको बजारीकरणको लागि कुनै समस्या नभएको र सोलु, ओखलढुंगा, काठमाडौंलगायतका स्थानबाट व्यापारीले केरा पाक्ने समयमा सबै लैजाने आश्वासन दिने गरेको उहाँको भनाइ छ। विचौलियालाई केरा दिँदा आफुलाई फाइदा नहुने भएकाले बजारमा व्यापारीहरूसंँग कुरा भएकाले आफूले बजारसम्म लगिदिने उहाँको भनाइ छ।

प्राविधिक ज्ञान र अनुवभबिना गरेको पहिलोपटकको केरा खेतीले निकै फाइदा दिने पहाडीको विश्वास। यदी यस खेती सम्बन्धी ज्ञान पाएमा आत्मानिर्भर सजिलै बन्न सकिने उहाँको भनाइ छ। पहाडीले गरेको केराखेती देखेर धेरै स्थानीयहरू अब केरा खेती गर्ने सोचमा रहेको स्थानीय शिक्षक विनोद पहाडीले बताउनुभयो। शुरूमा अन्नबाली मासेर केरा खेती गरेका खडानन्द पहाडीलाई गाली गर्नेहरू अहिले उहाँसँगै समन्वय गरेर केरा खेती गर्ने सोचमा उनीहरू पुगेको शिक्षक पहाडीको भनाइ छ। कम मिहनेत र लागतमा आम्दानी लिन सक्ने भएकाले पनि स्थानीय किसानहरू हावा पानी सुहाउँदो उन्नत जातको केरा खेती गर्न तम्सिएका छन्।

प्रतिक्रिया दिनुहोस्