सवा करोड कित्ता शेयर थप



काठमाडौं, (नेस)
शेयर बजारका लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदै गर्दा यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न नौ कम्पनीको करिब सवा करोड कित्ता शेयर थपिएको छ। यस साता नेपाल एसबीआई बैंकको एफपीओमार्फत बिक्री भएको साधारण शेयर, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्रिमियर इन्स्योरेनस, युनाइटेड इन्स्योरेन्स, छिमेक लघुवित्त, सिर्जना फाइनान्स, त्रिवेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको बोनस शेयर तथा युनाइटेड फाइनान्स र त्रिवेणी विकास बैंकको हकप्रद शेयर गरी १ करोड २१ लाख ९७ हजार ७ सय ५८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै यस सात नेप्से ६ दशमलब ८१ अंकले घटेको साता उत्पादनमूलक समूहको सूचक सबैभन्दा बढी १९ दशमलब ७ अंक, बीमा समूह १८ दशमलब ८७, जलविद्युत् समूह १२ दशमलब ८९, विकास बैंक समूह १० दशमलब ९५, होटेल समूह ८ दशमलब १४, बाणिज्य बैंक समूह ७ दशमलब ८७ र अन्य समूह १ दशमलब ४७ अंकले घटेको छ। नेप्सेमा १६५ कम्पनीको १८ हजार ५३३ कारोबारबाट ४५ लाख ७६ हजार २२० कित्ता शेयर २ अर्ब ३० करोड २० लाख २३ हजार रुपियाँमा कारोबार भएको थियो। शेयर संख्याका हिसाबले ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी ६ लाख ८० हजार कित्ता शेयर २७ करोड ३९ लाख १० हजार रुपियाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्