भिजन लुम्बिनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त


काठमाडौं।

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यससम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरिने कम्पनीले जनाएको छ।

भिजन लुम्बिनी लिमिटेड लगानी क्षेत्रको विकास तथा विस्तारमा योगदान पुर्‍याउँदै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका उत्पादनशील क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको छ।

कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। स्वदेशी पुँजी तथा स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ।

भविष्यमा पनि सम्भावनायुक्त नयाँ परियोजनामा लगानी विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना तथा नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ।