काठमाडौँ।
जलविद्युत् क्षेत्रको कम्पनी एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।
सम्झौता यही असोज ८ गते सम्पन्न भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन्।
सम्झौतापछि कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ। आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।
एबीपी इनर्जीले नेपालको जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्दै स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडासहित एफवान सफ्ट इन्टरनेशनल तथा इसेवाका संस्थापक अज्गर अली रहेका छन्।
कम्पनीले हाल नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदी क्षेत्रमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना विकास गरिरहेको छ। तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने उक्त आयोजना रन–अफ–रिभर प्रकृतिको हो।
आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कुल १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरिसकेको छ।
आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशतभन्दा बढी पुगेको छ। कम्पनीले आगामी २०८४ साल वैशाख मसान्तसम्म आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रमा दीर्घकालीन प्रतिबद्धताका साथ अघि बढिरहेको कम्पनीले नेपालको जलस्रोतको प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन विस्तारमा योगदान पुर्याउने जनाएको छ।











प्रतिक्रिया