नेपाल लगानी सम्मेलन शुरू “आर्थिक एजेन्डामा सबै दल एकै ठाउँमा”



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा राजनीतिक संक्रमणकाल सकिएको हुँदा अब देशको मुल एजेन्डा आर्थिक विकासमात्रै रहेको बताउनुभएको छ। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग एवम् निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि राजधानीमा शुरू भएको ‘नेपाल लगानी सम्मेलन– २०१७ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

‘नयाँ संविधानको घोषणा भएसँगै संक्रमणकाल सकिएको छ। अबको युग आर्थिक विकासको हो, सरकारको ध्यानाकर्षण लगानी आकर्षण गर्नमा केन्द्रित छ, सबै राजनीतिक दलका नेता विकासप्रति संवेदनशील छौं, आर्थिक एजेन्डामा सबै दलको मत एक छ। प्रधानमन्त्री दाहालले भन्नुभयो–‘सरकार पूर्वाधार निर्माणलगायतमा निजी क्षेत्र र वैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्छ हामी लगानीको सुरक्षा हुने ग्यारेन्टी गर्छौ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पीपीपी मोडेल सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो। कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि नयाँ लगानी आवश्यक परेको बताउनुभयो। उहाँले आर्थिक उदारीकरणले लगानीको वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो।

पूर्वप्रधानमन्त्री देउवा भन्नुभयो–‘कांग्रेसले आर्थिक उदारीकरण शुरू गरेर विभिन्न ऐन कानुन बनाएकाले लगानीको वातावरण बनेको तर अझै पनि पर्याप्त लगानी आउन सकिरहेको छैन, पर्याप्त लगानी नहुँदा आर्थिक वृद्धिदर कमजोर छ, त्यसैले अबको आवश्यकता नयाँ लगानीको हो। त्यस्तै पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालका दलहरूबीच राजनीतिक एजेन्डामा मतभेद भए पनि आर्थिक एजेन्डामा सबै एकै ठाउँमा रहेको बताउनुभयो। उहाँले नेपालका लागि अबको आवश्यकता भनेको लगानीको र आर्थिक विकासको हो, यो सन्दर्भमा नेपालभित्र रहेका राजनीतिक दलबीच कुनै फरक धारणा नभएको दाबी गर्नुभयो। उहाँले नयाँ संविधानपछि आर्थिक विकास देशको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

सम्मेलनका मुख्य वक्ताका रूपमा रहनु भएका भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभएको छ। ‘भारतले आर्थिक रूपमा सबल नेपाल देख्न चाहेको छ।

उहाँले भन्नुभयो–‘नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न छ। ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको भन्दै सकिने जेट्लीले नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारणलाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिँदै नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको जेट्लीले बताउनुभयो। शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिने धारणा जेट्लीले राख्नुभयो।

लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने भन्दै लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उहाँको सुझाव थियो। ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै जेट्लीले पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो।
यसैगरी अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले लगानीको संरक्षण गर्न कुनै कन्जुस्याईं नगर्ने बताउनुभयो । उहाँले उद्योगलाई २४सैं घन्टा बिजुली उपलब्ध गराउने अर्थमन्त्री प्रतिबद्धता व्यक्त गर्दै विभिन्न कानुन समयाअनुकुल परिवर्तन गरेर नेपालले सबैखाले लगानीलाई स्वागत गरेको धारणा राख्नुभयो।

अर्थमन्त्री महराले वैदेशिक लगानी र नाफावापतको रकम लैजानका कुनै समस्या नहुने भन्दै सरकारले प्रोजेक्ट बैंक बनाएको जानकारी दिनुभयो। उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा हजारौंलाई रोजगारी चाहिएको छ। रोजगारी सिर्जना गर्न लगानी बढाउनै पर्ने उल्लेख गर्नुभयो। उद्योगमन्त्री जोशीले भन्नुभयो–‘नेपालमा लगानीको वातावरण बनेको छ, अबको १० वर्षपछि कुनै पनि नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन। विश्व बजारमा जोडिनका लागि नेपालले धेरै नीति नियम समयानुकुल संशोधन गरिरहेको छ।

विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसद्बाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरू संसदमा छलफलका क्रममा रहेको उद्योगमन्त्रीले जानकारी दिनुभयो।

यसैगरी पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल अल्पविकसित मुलुकबाट विकासशील देशको सूचीमा प्रवेश गर्न एकदमै आतुर रहेको बताउनुभयो। सन् १९९० पछिको कालखण्डमा नेपाली कांँग्रेसको सरकारले नै निजी क्षेत्रलाई लगानीमा आकर्षित गरेको भन्दै त्यसकै परिणाम स्वरूप नेपालमा टेलिकम्युनिकेसन, एयरलाइन्स, बैंकिङलगायत क्षेत्रको विकास भएको दाबी गर्नुभयो। महतले नेपाल जैविक विविधताले भरिपूर्ण भएको भन्दै जलविद्युत्, स्वच्छ ऊर्जा तथा नयाँ पूर्वाधार निर्माणका लागि धेरै लगानीको सम्भावन धेरै रहेको बताउनुभयो।

सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकका अध्यक्ष जिन लिछुनले नेपालका ठूला परियोजनमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै नेपालका निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताउनुभयो। ‘लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि सामाजिक र आर्थिक परिवर्तन सहितको ठूलो लिन चाहन्छौं। उहाँको भनाइ थियो।

बैंक नेपाली जनताले छानेको कुनै पनि परियोजनामा लगानी गर्न तयार भएको र त्यसका लागि नेपाल सरकारले सहयोग गर्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि, वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछन्। साथै लगानीका प्रमुख सम्भावना भएका क्षेत्रका क्षेत्रगत विवरण नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिने कार्यक्रम रहेको छ। सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंकका, सिंगापुर, हङकङ मलेशिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायतका मुलुकबाट करिब २५० जना संस्थागत एवम् व्यक्तिगत लगानीकर्ता तथा तीन सयको हाराहारीमा स्वदेशी लगानीकर्ता, नीति निर्माता एवम् विज्ञको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्