भारु सटहीको छलफल गर्न आरबीआईको टोली आउँदै



दीपन्द्र थापा, काठमाडौं

पालमा रहेको प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट सटहीका विषयमा छलफल गर्न रिजर्व बैंक अफ इण्डिया (आरबीआई) को टोली आज मंगलबार नेपाल आउने कार्यक्रम रहेको छ। आरबीआईका एक्जुकेटिभ डाइरेक्टरको नेतृत्वमा दुई सदस्यीय टोली नेपाल आउन लागेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो।

यसअघि भारु सटहीको विषयमा छलफल गर्न फेब्रुअरी २० र २१ तारिखमा नेपाल आउने भनिएको भारतीय प्रतिनिधिमण्डलले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको थियो। यसपटक भारु साट्ने विषयमा भारतीय पक्षबाट ठोस निर्णय आउने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय वित्त व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले औपचारिक रुपमै भारतीय टोली नेपालमा रहेको भारतीय मुद्राको सटहीका सम्बन्धमा अध्ययन गर्न नेपाल आउन लागेको बताउनुभयो। भारतीय टोली पटक–पटक नेपाल आउने भनिए पनि धेरैपटक रद्द हुँदै आएकाले भारु सटहीको विषय अन्योल हुँदै आएको थियो। नेपाल समाचारपत्रसँग कुरा गर्दै ढुंगानाले भन्नुभयो–‘भारतीय टोलीले नेपाल आएपछि भारु सटहीका सम्बन्धमा ठोस निर्णय हुन्छ।’

नेपालमा रहेको प्रतिबन्धित भारु नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल र भारतस्थित नेपाली राजदूताबासका इकोनोमिक मिनिस्टरको टोली भारत पठाएको थियो। त्यतिबेला नै भारु सटहीको मोडालिटीको विषयमा छलफल भए पनि निर्णय हुन सकेको छैन।

स्रोतका अनुसार भारतीय पक्षलाई नेपालमा रहेको भारुका विषयमा आशंका रहँदै आएको छ। नेपालमा भारु कालोधन सहटी भएको हुन सक्नेतर्फ भारतीय पक्षले आंशका गरेको हो। भारतले विभिन्न स्रोतबाट कालोधन नेपाल पुगेको र त्यसलाई वैधानिक तरिकाबाट सटही हुन सक्नेतर्फ नेपाली अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ। ढुंगानाका अनुसार भारु सटहीका विषयमा छलफल गर्न भारत पुगेको नेपालीे टोलीलाई नेपालमा रहको भारु नोट अरू कसैबाट लिएर सटही गरेको होइन र यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम दण्ड र कारबाही भोग्न तयार छौं भनेर हस्ताक्षर नै गराएको छ। नेपालको बैकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार भारु छ भने बैंकिङ प्रणाली बाहिर १० अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ।

नोटमा प्रतिबन्ध लाग्नु पूर्व नेपालमा २५ हजार भारुसम्म व्यक्तिले राख्न सक्ने नियम रहेको हुँदा नेपाली पक्षले २५ हजार भारु व्यक्तिले बैंक खातामा जम्मा गर्ने र त्यसअनुसारको नेपाली रुपियाँ भुक्तानी दिने जम्मा भएको भारुको भुत्तानी भारतबाट लिने प्रस्ताव गर्दै आएको छ।

भारतले कात्तिक २३ गते राति १२ बजेदेखि भारु पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारुको संकट बढ्दै गएको छ। सीमार्वी बजारमा कारोबार तथा भारतमा रोजगारीमा रहेका विद्यार्थी, व्यापारी, औषधि उपचार गर्नेलाई समस्या हुँदै आएको। यसैबीच नेपाल राष्ट्र बैंकले वार्षिक ६ अर्ब भारु रिजर्व बैंक अफ इण्डिया (आरबीआई) मार्पmत लिँदै आएको छ। तर, अघिल्लो साता राष्ट्र बैंकले डलर बिक्री गरेर १ खर्ब ३३ अर्ब १० करोड ३८ लाख भारु खरिद गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो छ महिनामा ८८ अर्ब ११ करोड ७५ लाख भारु सहटी गरेको थियो। भारतले पाँचले पाँच सय र हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले राष्ट्र बैंकले पुसमा एक अर्ब बराबरको सय दरको नोट खरिद गरेको थियो। हालसम्म नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियाबाट नियमित प्रक्रिया अन्तर्गत करिब २ अर्ब २० करोड भारु खरिद गरेको छ। स्रोतका अनुसार रिजर्व बैंक अफ इण्डियाले नेपालमा अन्य दरका भारु नोट बिक्रीमा पनि कडाइ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्