नेपालको भारुमाथि भारतको शंका



दीपेन्द्र थापा, काठमाडौं

पालमा रहेको भारु पाँच सय र हजार दरका नोटको सटही गर्न अन्योल हुँदै गएको छ । भारतीय पक्षले नेपालमा रहेको भारु नोट सहटी गर्ने सम्बन्धमा ठोस निर्णय नदिँदा भारु नोटको सहटीमा अन्योलता बढ्दै गएको हो ।

नेपालमा रहेको भारु नोट सटही गर्ने विषयमा छलफल गर्न फेब्रुअरी २० र २१ तारिखमा नेपाल आउने भनिएको भारतीय प्रतिनिधिमण्डल नेपाल नआएकाले भारु सटहीको प्रक्रिया अन्योल भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्म ढुंगानाका अनुसार भारु सटहीको विषयमा छलफल गर्न फेब्रुअरी २० र २१ तारिखमा नेपाल आउने भनिएको भारतीय प्रतिनिधिमण्डलले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै ढुंगानाले भन्नुभयो–‘भारतीय पक्षबाट कहिले र को–को आउँदै छन्, त्यसको कुनै टुंगो छैन । तर, भारतीय पक्षले आउँछौं चाहीँ भनेको छ ।

स्रोतका अनुसार भारतीय पक्षलाई नेपालमा रहेको भारुका विषयमा आशंका रहँदै आएको छ । नेपालमा भारु कालोधन सहटी भएको हुन सक्नेतर्फ भारतीय पक्षले आंशका गरेको हो । भारतले विभिन्न स्रोतबाट कालोधन नेपाल पुगेको र त्यसलाई वैधानिक तरिकाबाट सटही हुन सक्नेतर्फ नेपाली अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ । ढुंगानाका अनुसार भारु सटहीका विषयमा छलफल गर्न भारत पुगेको नेपालीे टोलीलाई नेपालमा रहको भारु नोट अरु कसैबाट लिएर सटही गरेको होइन र यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम दण्ड र कारबाही भोग्न तयार छौं भनेर हस्ताक्षर गराएको छ । केही समय अघि भारत गएको राष्ट्र बैंक, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको टोलीलाई नोट सटही प्रणाली सम्बन्धी मोडालिटी प्रस्तुत गरेको थियो ।
नेपालको बैकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार भारु छ भने बैंकिङ प्रणाली बाहिर १० अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले भारु नोट सटही सहजीकरणका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको थियो । भारतले कात्तिक २३ गते राति १२ बजेदेखि भारु पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएको थियो । यसैबीच नेपाल राष्ट्र बैंकले वार्षिक ६ अर्ब भारु रिजर्व बैंक अफ इण्डिया (आरबीआई) मार्पmत लिँदै आएको छ । तर, अघिल्लो साता राष्ट्र बैंकले डलर बिक्री गरेर १ खर्ब ३३ अर्ब १० करोड ३८ लाख भारु खरिद गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा ८८ अर्ब ११ करोड ७५ लाख भारु सहटी गरेको थियो । भारतले पाँचले पाँच सय र हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले राष्ट्र बैंकले पुसमा एक अर्ब बराबरको सय दरको नोट खरिद गरेको थियो । हालसम्म नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियाबाट नियमित प्रक्रिया अन्तर्गत करिब २ अर्ब २० करोड भारु खरिद गरेको छ । स्रोतका अनुसार रिजर्व बैंक अफ इण्डियाले नेपालमा अन्य दरका भारु नोट बिक्रीमा पनि कडाइ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्