सुरक्षित छैनन् सडकपेटीका खानेकुरा



नेपाल समाचारपत्र
काठमाडौं
सडक पेटीमा पाइने खानेकुरा स्वास्थ्यका दृष्टिकोणले असुरक्षित पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। काठमाडौंका प्रायःजसो सडकमा खानेपानीको पाइपलाइन विछ्याउने काम भइरहेकाले सडकपेटीका ठेलामा पाइने चटपटे, पानीपुरी, फलफूललगायतका खानेकुरामा धुँवाधुलो मिसिएको पाइएको खाद्य अनुसन्धान अधिकृत तथा विभागका सहप्रवक्ता मदनकुमार चापागाईंले बताउनुभयो।

विभागले फागुन महिनालाई खाद्य स्वच्छता महिनाको रूपमा मनाउने घोषणा गरेसँगै फागुन ५ र ६ गते उपत्यकाको लगनखेल, न्यूरोड, वीर अस्पताल, बालाजु र भक्तपुरका सडकपेटीमा ठेलामा पाइने खानेकुरा तथा फलफूलको ३० वटा नमुना संकलनगरी परीक्षण गरेको थियो। अनुगमनका क्रममा अधिकांश पसलमा पाइने खानेकुरा नछोपिएको, भाँडाकुँडा र व्यक्तिगत सरसफाइमा ध्यान नदिइएको पाइएको हो। विभागले यस्ता पसल सञ्चालकलाई सरसफाइमा ध्यान दिनका लागि चेतावनी मात्र दिने गरे पनि कुनै कारबाही भने नहुने चापागाईंले बताउनुभयो। खाद्य सुरक्षा ऐन २०२३ मा भने दुषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपियाँसम्म जरिवाना वा ४ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सकिने प्रावधान छ। त्यस्तै न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलोपटक १ हजारदेखि २ हजार रुपियाँ जरिवाना र दोस्रोपटक २ हजारदेखि ५ हजारसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

त्यस्तै विभागले फागुन ७ र ८ गते उपत्यका भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्नका लागि नमुना संकलन गरेको छ। मुख्य तीनवटा नाका थानकोट, जगाती र बालाजुबाट उपत्यका भित्रिने फलफूल तथा तरकारीलाई विषादी परीक्षणका लागि नमुना लिएको विभागले जनाएको छ। यद्यपि, ती फलफूल तथा तरकारीमा विषादीको मात्रा के कस्तो छ भनेर अनुसन्धानको प्रयोजनका लागि मात्र नमुना लिइएको विभागले जनाएको छ। चापागाईंले भन्नुभयो–‘हामीले हाल कारबाही गर्ने भन्दा पनि अनुसन्धानमुलक अनुगमन गरेका हौं। ती वस्तुमा विषादीको मात्रा बढी पाइए पनि त्यस्ता व्यवसायी तथा व्यापारीलाई कारबारी गर्न सक्दैनौ।’

प्रतिक्रिया दिनुहोस्