छाला जुत्ताको कारोबार ओझेलमा



मोरङ, ३ फागुन । अन्तर्राष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ ।

नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार पाएको छ । माग अनुसारको मोडलका जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उत्पादनले बजार पाउन नसकेको हो ।

नेपालमा पुँजी र दक्ष जनशक्तिको समेत अभाव छ । पुँजी र दक्ष जनशक्ति अभावका कारण उत्पादनमा समेत ह्रास आएको छ । यस व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा ओझेलमा विराटनगरका जुत्ता उद्योगी चेतन निरौला बताउनुहुन्छ ।

“नेपालमै छालाको जुत्ता उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन हुन सकेकोे छैन,” उहाँले भन्नुभयो । नेपाली उत्पादन महँगो भएका कारण समेत कारोबारमा ह्रास आएको हो ।

यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्नकै लागि भारत, चीनलगायत देशबाट कच्चा पदार्थ आयात गर्ने गरेका सनराइज शुज कम्पनीका सञ्चालक विशाल श्रेष्ठ बताउनुहुन्छ । विसं २०५४ बाट उत्पादन सुरु गरेको उक्त कम्पनीले सुरुवातमा मुनाफा आर्जन गरेको थियो । यस कम्पनीले स्थापनाकालमा वार्षिक रु ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको थियो ।

नयाँ प्रविधि र दक्ष जनशक्तिसहित २०६२ सालबाट उत्पादन सुरु गरेको विराटनगर–६ मा रहेको ग्यालेक्सी शुज उद्योगका सञ्चालक चेतन निरौला अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको बताउनुहुन्छ । “मागअनुसारका जुत्ता चप्पल उत्पादन गर्न सके मात्र प्रतिस्पर्धा गर्न सकिन्छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्