सुन्तलाबाट ९ करोड आय



सिर्जना पन्त, बागलुङ
अनुकुल मौसम तथा बगैंचाको उचित व्यवस्थापनका कारण यस वर्ष सुन्तला उत्पादन बढेपछि बागलुङ जिल्लाका कृषकले ९ करोड रुपियाँभन्दा बढी रकम जिल्ला भित्र्याउन सफल भएका छन्। जिल्लाका विभिन्न गाविसका किसानले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, बुटवल, धादिङ लगायतका जिल्लामा निर्यात गरिएको थियो।

पहिलो चरणमा प्रतिकिलो ४० देखि ५० रुपियाँसम्ममा बिक्री गरे पनि पछिल्लो समय कृषकले १ सय २० रुपियाँसम्ममा बिक्री गरेका थिए। यस वर्ष सुन्तला खेती गर्दै आएका बागलुङका १२ सय घरधुरी लाभान्वित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बागलुङमा ११ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती हँुदै आएको छ भने कुल क्षेत्रफलको ४ हजार ८ सय रोपनी क्षेत्रफल उत्पादनशील छ। यस वर्ष करिब १० प्रतिशतले वृद्धि भएर उक्त क्षेत्रफलमा ३ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएको छ। कुल उत्पादनको ७० प्रतिशत जिल्ला बाहिर निकासी भएको छ भने ३० प्रतिशतमात्रै आन्तरिक उपभोग गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो।

उहाँका अनुसार रोग किराको व्यवस्थापन, प्रविधिक तालिम दिएका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो। असिना नपरेको तथा हावा हुरीको प्रभाव पनि बढी नभएकाले सहयोग गरेको भन्दै २ हजार १ सय उत्पादनशील बोट वृद्धि गरेको अधिकारीले जानकारी दिनुभयो। उहाँले एउटै घरबाट न्युनतम ५० हजारदेखि ५ लाख रुपियाँसम्मको बिक्री हुने गरेको पनि बताउनुभएको छ। गत वर्ष जिल्लामा ९ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा २ हजार ९ सय ९६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा छ। यस वर्ष उत्पादित सुन्तला विभिन्न जिल्लाका व्यवसायीले बगैंचामै पुगेर खरिद गरेको कृषक बताउँछन्। खुद्रा सुन्तला बिक्री गर्नुभन्दा व्यापारीहरू आएर एकमुष्ठ खरिद गरेपछि सहज भएको उनीहरू बताउँछन्।

सुन्तलाको लागि अनुकुल वातावरण भएकाले पनि सुन्तला रसिलो र स्वादिलो भएको कारण व्यापारीहरूको आर्कषण बढेको किसानको अनुभव छ। सिजनमा भन्दा बेसिजनमा सुन्तला बिक्री गर्दा किसानलाई फाइदा पुग्ने भएकाले कतिपयले आधुनिक स्रोत र साधनको अभावमा परम्परागत रूपमा घर भित्रनै सुन्तला भण्डारन गरेर राख्ने गरेका छन्। यसरी भण्डारन गरेको सुन्तला कतिपय कृषक चैत⁄वैशाखसम्म रहने गरी बढी मूल्यमा बिक्री गर्छन्। सुन्तालका लागि बागलुङको भकुण्डे, बिहँु, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटीलगायतका झण्डै २ दर्जन गाविसहरू पकेट क्षेत्र मानिन्छ।

प्रतिक्रिया दिनुहोस्