शेयर बजारमा उच्च गिरावट लगानीकर्ताले एकैदिनमा ७४ अर्ब रुपियाँ गुमाए



नेपाल समाचारपत्र
काठमाडौं
पुँजी बजारका लगानीकर्ताले एकैदिनमा ७४ अर्ब रुपियाँ गुमाएका छन्। अघिल्लो साताको अन्त्यसम्म पुँजीबजार १५ खर्ब ४७ अर्ब रुपियाँ रहेको भए पनि सोमबार १४ खर्ब ७३ अर्ब रुपियाँमा झरेका कारण लगानीकर्ताले ठूलो परिमाणमा सम्पत्ति गुमाएका हुन्। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा भएका सबै समूहमा गिरावट आउँदा पुँजी बजारमा पहिरो गएको हो।

आइतबार शहिद दिवस परेकाले बिदा हुँदा सोमबारमात्रै साताको पहिलो कारोबार भएको थियो। सोमबार नेप्से परिसूचक ६५ दशमलव ४४ अंकले घटेर १३०९ दशमलव ७० अंकमा झरेको छ। यसदिन बीमा समूह सबैभन्दा धेरै ५६० अंकले ओरालो लागेको छ। त्यसपछि क्रमशः होटल समूह १२८, जलविद्युत् समूह ७३, बैंकिङ समूह ६०, विकास बैंक समूह ४९, वित्त समूह ३५ र अन्य समूह १५ अंकले झरेको छ। कुल १२३ कम्पनीका ११ लाख २६ हजार ४ सय ६५ कित्ता शेयर ५३ करोड ६६ लाख रुपियाँमा किनबेच भएको थियो। बजार केही दिनदेखि निरन्तर घट्ने क्रम जारी रहे पनि सोमबार एकैपटक धेरै घटेको हो।

शेयर बजार ओरालो लाग्नुमा विभिन्न कारण अगाडि सारिएको छ। शेयर विज्ञ एवम् कारोबारीहरूले पहिलो कारण बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) को अभाव एवम् बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गर्नुलाई प्रमुख कारण मानिएको छ। त्यस्तै बीमा कम्पनीले नगद लाभांश दिने भनेपछि यसको असर सोमबारको बजारमा परेको हो भन्ने एक थरीको विश्लेषण छ। बीमाको नयाँ निर्देशिकाले नगद लाभांश दिने व्यवस्था गरेपछि बजार घटेको उनीहरूको भनाइ छ। सोमबार बीमा समूह ५६० अंकले ओरालो लागेको छ। अर्का थरीको भनाइमा धेरै कम्पनीहरू एफपिओको प्रक्रियामा रहनु तथा कर्जा नपाउने समस्याले बजार घट्न गएको भन्ने पनि छ। बैंकहरूले हिजोआज शेयर धितोमा राखेर कर्जा दिन छोडेका कारण पनि यो अवस्था आएको बताइन्छ। कारण जेसुकै भए पनि बजार निरन्तर ओरालो लाग्दै गएपछि मुलुकको अर्थतन्त्रमा हलचल मच्चाउने भने निश्चित छ।

बजारमा सबै सुचकहरू ओरालो लाग्दा पनि अरुण फाइनान्स, ओरिन्टयल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स र एक्सल डेभलपमेन्टका लगानीकर्ताले थोरै भए पनि कमाएका छन्। त्यस्तै प्रुडेन्यिल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टी होटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक र समिट माइक्रोको शेयर मूल्य १० प्रतिशतका दरले घटेको छ। यस दिन २० कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत, १२ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतसम्म शेयर मूल्य गुमाएका छन्।

यस वर्ष गत असोज १९ गते १८०० अंकमा पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो लाग्दै आएको छ। पछिल्लो तीन महिनामा मात्रै नेप्से ५११ अंकले ओरालो लागेको छ। सोमबार भएको कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको २ करोड ९० लाख रुपियाँको कारोबार थियो। एफपीओ जारी गर्दा २८ सय ८० रुपियाँ रहेको कम्पनीको शेयर सोमबार घटेर २२ सय ५५ रुपियाँमा कारोबार भएको छ।

यसैगरी सोमबार नेपाल बंगलादेश बैंकको २ करोड ८० लाख, सिद्धार्थ बैंकको २ करोड ७७ लाख, प्रभु बैंकको २ करोड ४४ लाख, बैंक अफ काठमाण्डु लुम्बिनीको २ करोड रुपियाँको शेयर कारोबार भएको भयो। सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकको पनि कारोबारका आधारमा अरुको भन्दा धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्