पश्चिमकै ठूलो चिनी मिल सधैंका लागि बन्द हुँदै



सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु)
कपिलवस्तुको शिवराज नगरपालिका–१३, जवाभारीस्थित महालक्ष्मी सुगर मिल सधैंका लागि बन्द हुन लागेको छ। पश्चिम नेपालकै सबैभन्दा ठूलो चिनी मिल कच्चा पदार्थको पर्याप्त आपूर्ति नहुँदा सदाका लागि बन्द भई कपिलवस्तुबाट विस्थापित हुन लागेको हो।

कपिलवस्तुबाट चिनी मिल विस्थापित भई सर्लाहीमा स्थापना गर्न लागिएको बुझिएको छ। सर्लाही उखु खेतीको पकेट क्षेत्र भएकाले कच्चा पदार्थको सहज आपूर्ति हुने भएपछि कपिलवस्तुको मिल सर्लाहीमा स्थानान्तरण गर्न लागिएको हो।

सुख्खाग्रस्त क्षेत्रका कारण कपिलवस्तुमा उखु खेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दा पनि बर्सेनी घाटा बेहोर्नुपरेको समस्या दर्शाउँदै मिल बन्द गर्नुपरेको प्रबन्ध निर्देशक वीरेन्द्रकुमार कानोडियाले जानकारी दिनुभयो।

मिलको क्रसिङ क्षमता दैनिक २५ हजार क्विन्टल भएको बताउँदै भारतीय उखुलाई प्राथमिकता दिँदा समेत क्रसिङ क्षमताजति उखु पुर्याउन नसकिएको प्रबन्ध निर्देशक कानोडियाले बताउनुभयो। पर्याप्त मात्रामा कच्चा पदार्थ नहुँदा २१ वर्षको अवधिमा १५ प्रतिशतदेखि ६० प्रतिशत क्षमतामा मिल चलाउन बाध्य बनेको उहाँको भनाइ छ।

मिल सधैं घाटामा चलाउनुपर्दा बैंकको ऋण समेत तिर्न नसकिएको कानोडियाले गुनासो गर्नुभयो। ऋणको बोझले आर्थिक अवस्था धराशयी भएको बताउँदै पर्याप्त कच्चा पदार्थ नहुँदा उद्योग चलाउन असम्भव भएको उहाँले बताउनुभयो। २१ वर्षसम्म उद्योग चलाउन अथक परिश्रम गर्दा पनि दुर्भाग्यबस उखुको खेती नबढेपछि सूचना प्रकाशित गर्दै दुःखद निर्णय लिनुपरेको उहाँले जनाउनुभयो।

मिल सधैंका लागि बन्द हुने भएपछि कपिलवस्तुका उखु कृषक चिन्तित बनेका छन्। चिनी मिलबाट ढिलै भए पनि कृषकले उचित दररेट पाउँदै आएका थिए। चिनी मिल बन्दपछि गुड (भेली) उद्योगको मोनोपोली बढ्ने होला भनी किसान चिन्तामा परेका छन्। ‘अहिलेसम्म सरकारले निर्धारण गरेको दररेटका लागि किसानको संगठित आवाज थियो। अब भने भेली उद्योगमा सस्तो दरमै उखु फाल्नुपर्ने बाध्यता हुने भयो’ कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीको गुनासो छ।

सिजनल रूपमा सञ्चालन हुने महालक्ष्मी सुगर मिलको क्रसिङ पनि डेढ महिनामै बन्द छ। भारतीय उखुमा निर्भर मिलले पर्याप्त कच्चा पदार्थ नहुँदा यस वर्षको क्रसिङ बन्द गरेको हो।

प्रतिक्रिया दिनुहोस्