घ्यु, चाकुको व्यपार बढ्दो



नेपाल समाचारपत्र
काठमाडौं
माघे संक्रान्तिमा घ्यु, चाकु, लड्डु र तरुल खाने प्रचलन छ। यही कारण माघे सक्रान्तिमा लड्डु, चाकुको माग र उत्पादन उच्च हुने गरेको छ। छोटो समयमा यो व्यवसायबाट राम्रै आम्दामी हुने गरेको व्यवसायीहरू बताउँछन्।

हजुरबुबाको पालादेखि नै चाकु व्यवसाय गर्दै आउनुभएका टोखाका हन्सराज श्रेष्ठले मंसिरको सुरुबाटै चाकु उत्पादन गर्न शुरू गर्नुहुन्छ। बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म श्रेष्ठलगायत १० जनाको टिम खटिन्छ। दुई महिनाको अवधिमा उहाँले चार टन चाकु उत्पादन गर्नुहुन्छ। सिजनको व्यापार भएकाले यस समयमा १२ देखि १५ लाखको रुपियाँको व्यापार हुने श्रेष्ठको भनाइ छ।। उत्पादन भएको चाकु र लड्डुको बजार भने नुवाकोट त्रिशूली र बढिजसो काठमाडौं उपत्यका रहेको छ। चाकु लड्डु बनाउन प्रयोग गरिने सखर भने वीरगन्जबाट आयात गरिन्छ। चाकु काठमाडौंको कालिमाटी, असन, बसन्तपुर र ललितपुरका विभिन्न ठाउँमा उत्पादन हुने गरेको छ। कति मात्रामा चाकु उद्योग छन् त्यसको कुनै यकिन तथ्यांक छैन तर श्रेष्ठका अनुसार टोखामा मात्र ५ वटा चाकु उद्योग सञ्चालनमा रहेका छन्। त्यस्तै भत्तपुर, हरिसिद्धि क्षेत्रमा पनि उद्योगहरू पनि सञ्चालनमा रहेका छन्। परिवार मिलेर पनि गर्न सकिने र थोरै समयमा राम्रो मुनाफा हुने भएकाले धेरैले यो व्यवसाय अंगाल्ने गरेका छन्। श्रेष्ठका अनुसार यो दुई महिनामा झन्डै २ करोडभन्दा माथिको व्यापार हुने गरेको बताउछन्।

माघे संक्रान्तिलाई घ्यु चाकुको पर्वको रूपमा पनि लिइन्छ। बल्खु तरकारी बजारमा विगत ३ वर्षदेखि व्यापार गर्दै आउनु भएका पारस दाहालले थोरै दिनमा चाकु व्यापारबाट राम्रै आम्दानी हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो–‘एक हप्ताको अवधिमा १ लाख रुपियाँसम्मको कारोबार हुने गरेको छ।’ माघे संक्रान्तिलाई ध्यानमा राखेर हजार किलो चाकु र तितौरा उत्पादन हुने गरेको छ। शरीरको लागि आवश्यक पौष्टिक तत्त्व पूर्ति गर्न र जाडोमा शरीरलाई न्यानो बनाउन यी चिजको प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्