वर्षेनी २७ सय नेपालीको मृत्यु

उपचार केन्द्र बढे पनि जोखिम कायमै

846
Shares

काठमाडौं ।

मनसुन सुरु भएसँगै नेपालमा सर्पदंशका घटना बढ्न थालेका छन् । तराईदेखि पहाडसम्म सर्पको टोकाइ सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखापरेको छ । सरकारी तथ्यांक, अस्पतालका अभिलेख तथा विभिन्न अध्ययनहरूले नेपालमा हरेक वर्ष हजारौं मानिस सर्पदंशबाट प्रभावित हुने र हजारौंले ज्यान गुमाउने गरेको देखाएका छन् ।

विश्व स्वास्थ्य संगठन तथा नेपालसम्बन्धी विभिन्न अध्ययनअनुसार नेपालमा वार्षिक २० हजारदेखि ४० हजारसम्म सर्पदंशका घटना हुने अनुमान छ । हरेक वर्ष १ हजारदेखि ३ हजार २ सय २५ जनासम्मको मृत्यु हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । केही अन्तर्राष्ट्रिय अध्ययनले वार्षिक मृतक संख्या करिब २ हजार ७ सयसम्म पुग्ने उल्लेख गरेका छन् ।

नेपालमा ८९ भन्दा बढी प्रजातिका सर्प, विषालु सर्पको टोकाइबाट हजारौं प्रभावित; समयमै उपचार नपाउँदा ज्यान गुमाउनेको संख्या अझै उच्च ।

विशेषज्ञहरूका अनुसार वास्तविक संख्या सरकारी अभिलेखभन्दा धेरै हुन सक्छ, किनभने धेरै पीडित अझै पनि झाँक्री, धामी वा परम्परागत उपचारतर्फ जाने गर्छन् र अस्पतालसम्म पुग्दैनन् ।

नेपाल हर्पेटोलोजिकल सोसाइटीका सर्प विज्ञ तथा अनुसन्धानकर्ता कमल देवकोटाका अनुसार नेपालमा सर्पदंशका घटना बढ्नुको प्रमुख कारण जलवायु परिवर्तन, तापक्रम वृद्धि र मनसुनी मौसमको परिवर्तन हो । ‘पहिले तराई क्षेत्रमा सीमित मानिएका केही विषालु सर्प अहिले पहाडी जिल्लासम्म देखिन थालेका छन् । तापक्रम बढेसँगै सर्पको गतिविधि पनि बढेको छ’ –उहाँले बताउनुभयो । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा समेत सर्पदंशका बिरामी बढ्नु यसैको संकेत भएको उहाँको भनाइ छ ।

देवकोटाका अनुसार वर्षायाममा सर्पदंशका घटना झन् बढी हुने गर्छन् । ‘मनसुनका बेला सर्प बस्ने दुलोमा पानी पस्छ, त्यसपछि सर्प सुरक्षित स्थान खोज्दै मानव बस्ती नजिक पुग्छन्’ – उहाँले भन्नुभयो । यही समय धान रोपाइँ, खेतबारीको काम तथा जंगल आसपासको गतिविधि बढ्ने भएकाले मानिस र सर्पबीचको प्रत्यक्ष सम्पर्क पनि बढ्ने गर्छ । नेपालमा अधिकांश सर्पदंश किसान, खेतबारीमा काम गर्ने श्रमिक तथा ग्रामीण समुदायमा हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जनचेतनाको अभाव पनि मृत्युदर उच्च हुनुको अर्को कारण हो । ‘अहिलेसम्म धेरै मानिस सर्पले टोकेपछि अस्पताल जानुको सट्टा धामी–झाँक्री वा घरेलु उपचारमा अल्झिने गर्छन्, जसले बिरामीको अवस्था जटिल बनाउँछ’ –उहाँले बताउनुभयो । समयमै एन्टिभेनम उपचार नपाउँदा अधिकांशको मृत्यु हुने गरेको उल्लेख गर्दै उहाँले सर्पले टोकेपछि बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै ज्यान बचाउने सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो । नेपालमा हुने करिब ८० प्रतिशत मृत्यु उपचारमा ढिलाइका कारण हुने गरेको स्वास्थ्य क्षेत्रका अध्ययनहरूले देखाएका छन् ।

स्वास्थ्य तथा सरोकारवाला निकायहरूको तथ्यांक विश्लेषण गर्दा नेपालमा पछिल्ला पाँच वर्षमा सर्पदंशका घटनामा कमी आउन सकेको छैन । विशेषज्ञहरूले वार्षिक २० हजारदेखि ४० हजारसम्म मानिस सर्पदंशबाट प्रभावित हुने र १ हजारदेखि ३ हजारभन्दा बढीले ज्यान गुमाउने अनुमान गर्दै आएका छन् ।

सर्पदंश नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सेनाले देशका विभिन्न सर्पप्रभावित जिल्लामा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । हाल विभिन्न जिल्लामा सेनाको सहयोगमा सञ्चालित केन्द्रहरूबाट चौबिसै घण्टा सेवा उपलब्ध भइरहेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्रै सेनाको सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा २ हजार ६ सय ५४ बिरामीले उपचार पाएका थिए । स्थापना भएयता एक लाख २५ हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार समयमै एन्टिभेनम उपलब्ध गराउन सकिएकाले मृत्युदर उल्लेखनीय रूपमा घटेको छ । तर, दुर्गम क्षेत्र र रातिको समयमा हुने सर्पदंश अझै चुनौती बनेको छ ।
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत सर्पदंशका बिरामीको चाप बढिरहेको छ ।

अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलले हालका वर्षहरूमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट समेत सर्पदंशका बिरामी बढ्दै गएको बताउनुभएको छ । गर्मीयाम र वर्षायाममा दैनिक ४ देखि ८ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले समयमै अस्पताल पुगे अधिकांश बिरामीलाई बचाउन सकिने भन्दै धामी–झाँक्रीको भर नपर्न आग्रह गर्नुभएको छ ।

नेपालमा पाइने विषालु सर्प
नेपालमा ८९ भन्दा बढी प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब १७ प्रजाति चिकित्सकीय दृष्टिले अत्यन्त विषालु मानिन्छन् । ती विषालु सर्पमा गोमन, कालो करेत, ब्यान्डेड करेत, राजगोमन, रसेल भाइपर, हरियो भाइपर, पहाडी खाल्डे भाइपर, मोनोकल्ड कोब्रा, हिमाली पिट भाइपर रहेका छन् । नेपालमा सर्पदंशबाट हुने अधिकांश मृत्यु गोमन र करेत प्रजातिको टोकाइबाट हुने गरेको विशेषज्ञहरूको भनाइ छ । राति सुतिरहेका बेला करेतले टोकेका धेरै घटना बाहिर आउने गरेका छन् ।

हाल नेपालका अधिकांश प्रादेशिक, संघीय र जिल्ला अस्पतालमा सर्पदंशको उपचार उपलब्ध हुने गरेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, वीरगञ्जको नारायणी अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, जनकपुरको जनकपुर प्रादेशिक अस्पताल, विराटनगरको कोशी अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल रहेका छन् ।

यसका अतिरिक्त नेपाली सेनाका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, कपिलवस्तुलगायत विभिन्न जिल्लाका उपचार केन्द्रहरूले समेत सेवा दिँदै आएका छन् । विशेषज्ञहरूका अनुसार मनसुनमा खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्न जाने, भुइँमा सुत्ने र राति उज्यालो बिना हिँड्ने मानिस बढी जोखिममा हुन्छन् । बालबालिका, किसान र महिलाहरू सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन् ।

सरकारले सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्यु आधा घटाउने लक्ष्य राखेको छ । तर, उपचार केन्द्रको पहुँच, एन्टिभेनमको नियमित आपूर्ति, जनचेतना अभिवृद्धि र समयमै अस्पताल पु¥याउने व्यवस्था अझै सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ ।

विशेषज्ञहरू भन्छन्– सर्पले टोकेपछि धामी–झाँक्री होइन, तत्काल अस्पताल पुग्नु नै ज्यान बचाउने सबैभन्दा प्रभावकारी उपाय हो । नेपालमा सर्पदंश अझै पनि मौन महामारीका रूपमा रहेको र यसलाई सार्वजनिक स्वास्थ्यको प्राथमिक मुद्दाका रूपमा हेर्नुपर्ने आवश्यकता रहेको उनीहरूको निष्कर्ष छ ।