राष्ट्रिय संवादमा सरोकारवालाको जोड : “बालबालिकालाई दया होइन, अवसर चाहिन्छ”
काठमाडौं।
बालबालिकाको सर्वोत्तम हितका लागि संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरी परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाहलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
“बालबालिकाको वैकल्पिक हेरचाह : राष्ट्रिय संवाद” कार्यक्रममा वक्ताहरूले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताएका हुन्। उनीहरूले बाल संरक्षण प्रणालीलाई संस्थामुखीभन्दा परिवारमुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा प्रस्तुत गरिएका विचारअनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बालबालिका सम्बन्धी नियमावली, २०७८ ले संस्थागत हेरचाहभन्दा पारिवारिक वातावरणमा आधारित हेरचाहलाई प्राथमिकता दिएको छ। कुनै बालबालिका आफ्नै परिवारमा बस्न नसक्ने अवस्था आएमा स्थानीय तहले इच्छुक परिवार (फोस्टर परिवार) को सूचीकरण गरी वैकल्पिक हेरचाहको व्यवस्था गर्न सक्ने कानुनी प्रावधान रहेको जानकारी दिइयो।
इच्छुक परिवार छनोट गर्दा बालबालिकाको समुदाय, भाषा, संस्कृति, जातीय तथा धार्मिक पृष्ठभूमिसँग मिल्ने परिवारलाई प्राथमिकता दिइने जनाइएको छ। सकेसम्म बालबालिका बसिरहेको समुदाय, सोही पालिका तथा एउटै वडाभित्रका परिवारलाई संरक्षणको जिम्मेवारी दिने अभ्यासलाई प्रभावकारी मानिएको हिमाली इनोभेटीभ संस्छथाका तर्फबाट सुरेन्द्र तामाड.ले बताउनुभयो।
बालबालिकालाई इच्छुक परिवारमा स्थानान्तरण गरिसकेपछि पनि स्थानीय तहको भूमिका समाप्त नहुने वक्ताहरूले बताए। नियमित अनुगमन, परामर्श, अभिमुखीकरण तथा आवश्यक सहयोगमार्फत बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गरिनुपर्ने उनीहरूको भनाइ थियो।
समुदायस्तरमा इच्छुक परिवारको पहिचान, जनप्रतिनिधिसँग समन्वय तथा चेतनामूलक अभियान सञ्चालन गर्दै वैकल्पिक हेरचाहको प्रणालीलाई सुदृढ बनाउने प्रयास भइरहेको जानकारी पनि कार्यक्रममा दिइयो।
कार्यक्रममा आफ्नो जीवन अनुभव सुनाउँदै सुमन तामाङले बाल संरक्षण प्रणालीले आफ्नो जीवन परिवर्तन गरेको बताए। उनले आफू करिब पाँच वर्षको उमेरमा पारिवारिक संरक्षणको अभावका कारण सडक जीवनमा पुगेको स्मरण गरे।
“मलाई कहाँ जाने, कसलाई विश्वास गर्ने भन्ने केही थाहा थिएन। त्यसपछि ‘बिसौनी’ नामको रिफरल सेन्टरमा पुगेँ। पछि दीर्घकालीन हेरचाह सेवामा बस्ने अवसर पाएँ। त्यहीँबाट मैले पढ्न, अनुशासनमा बस्न र जीवनका आधारभूत सीप सिक्ने मौका पाएँ,” उनले भने।
उनका अनुसार संस्थागत हेरचाहपछि परिवारसँग पुनर्मिलन हुनु सहज थिएन। परिवारको अवस्था मूल्याङ्कन, बाल संरक्षणकर्मीहरूको निरन्तर प्रयास तथा आवश्यक तयारीपछि मात्रै पुनर्मिलन सम्भव भएको थियो।
समुदायमा फर्किएपछि पनि विभिन्न चुनौतीको सामना गर्नुपरेको अनुभव उनले सुनाए। “सानैदेखि परिवारभन्दा बाहिर हुर्किएकाले समुदायमा घुलमिल हुन समय लाग्यो। साथीहरूको प्रभाव, गलत संगतको जोखिम र सामाजिक दृष्टिकोणले थप चुनौती सिर्जना गर्यो,” उनले भने।
बालबालिकालाई परिवारमा फर्काएर मात्र दायित्व पूरा नहुने उल्लेख गर्दै उनले निरन्तर परामर्श, सकारात्मक वातावरण, समुदायको साथ र स्थानीय तहको अनुगमन आवश्यक पर्ने बताए।
कार्यक्रमका सहभागीहरूले बालबालिकाको संरक्षण राज्य, परिवार र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक बालबालिकाले माया, सुरक्षा र सम्मानसहित पारिवारिक वातावरणमा हुर्कने अवसर पाउनुपर्नेमा जोड दिए।
वक्ताहरूले सही समयमा उचित संरक्षण, शिक्षा, माया र अवसर उपलब्ध गराउन सके जोखिममा परेका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।
कार्यक्रमको निष्कर्षस्वरूप सरोकारवालाहरूले स्पष्ट सन्देश दिएका छन्— “संस्थागत हेरचाह अन्तिम विकल्प हो; बालबालिकाका लागि परिवारमा आधारित संरक्षण नै सबैभन्दा उत्तम विकल्प हो।”
उनीहरूको भनाइमा, “बालबालिकालाई दया होइन, अवसर चाहिन्छ। सही संरक्षण र साथ पाए उनीहरूले आफ्नो जीवन आफैँ परिवर्तन गर्न सक्छन्।” यसरी संरक्षित ब्यक्तिको पहिचानका लागी सरकार गम्भीर हुनुपर्यो भन्ने बिषयमा जोड दिईयो ।











प्रतिक्रिया