काठमाडौं ।
अमेरिकासहित २२ देशले संयुक्त विज्ञप्ति जारी गर्दै इरानलाई आफ्नो भूमिमा रहेका सर्वसाधारण तथा विभिन्न समुदायलाई लक्षित गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन्।
बिहीबार जारी विज्ञप्तिमा इरानका सुरक्षा निकायहरूले युरोप, उत्तरी अमेरिका तथा अष्ट्रेलियामा आक्रमणका योजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय तथा स्थानीय आपराधिक सञ्जालको प्रयोग गरेको आरोप लगाइएको छ।
ती देशहरूले यहूदी समुदाय, इरानी मूलका पत्रकार तथा अमेरिकी पत्रकारलाई लक्षित गरी भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिअनुसार ‘हरकत अशब अल–यामीन अल–इस्लामिया’ नामक इरान समर्थक मानिएको समूहले विभिन्न घटनाको जिम्मेवारी लिएको बताइएको छ।
उक्त समूहले बेलायतको लन्डनस्थित गोल्डर्स ग्रीन क्षेत्रमा रहेका यहूदी सभाघर तथा सामुदायिक केन्द्रमा भएका आगजनी घटनाको समेत जिम्मेवारी लिएको जनाइएको छ। साथै बेल्जियमको लिजस्थित यहूदी प्रार्थनास्थलमा भएको आक्रमण तथा नेदरल्याण्ड्सको रोटरडम र एम्स्टर्डममा भएका विस्फोटका घटनामा पनि समूहले संलग्नता स्वीकार गरेको उल्लेख गरिएको छ।
यता इरानले भने यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ। लन्डनमा भएका पछिल्ला घटनापछि इरानी दूतावासले जारी गरेको वक्तव्यमा इरानले कुनै पनि प्रकारको यहूदीविरोधी गतिविधिलाई समर्थन नगर्ने स्पष्ट पारेको थियो।
संयुक्त विज्ञप्ति जारी गर्ने देशहरूमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे, आयरल्याण्ड, न्यूजील्याण्डलगायत २२ राष्ट्र रहेका छन्।
विज्ञप्तिमा कुनै पनि देशको भूमिमा हत्या, अपहरण, धम्की वा अन्य प्रकारका आक्रमणका प्रयासहरू राष्ट्रिय सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन हुने उल्लेख गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न इरानलाई आग्रह गरिएको छ।











प्रतिक्रिया