तेहरान । अमेरिका र इरानबीचको प्रत्यक्ष सैन्य टकराव झन् तीव्र बन्दै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकी हवाई तथा नौसैनिक संरचनासहित २१ वटा सैन्य लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीका अनुसार जोर्डनस्थित अल–अजराक सैन्य अड्डामा रहेका एफ–३५ लडाकु विमानका ह्याङ्गर, कमाण्ड तथा नियन्त्रण केन्द्र र अन्य सैन्य संरचनालाई निशाना बनाइएको छ। कुवेतको अली अल–सालेम हवाई अड्डा तथा बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा समेत ड्रोन तथा मिसाइल प्रहार गरिएको दाबी इरानले गरेको छ। यद्यपि अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकम र क्षेत्रीय सुरक्षा स्रोतहरूले अधिकांश मिसाइल तथा ड्रोनहरू बीचमै अवरोध गरिएको जनाएका छन्।
प्रारम्भिक विवरणअनुसार अमेरिकी सैनिकहरूमा ठूलो मानवीय क्षति वा प्रमुख सैन्य संरचनामा गम्भीर क्षति पुगेको पुष्टि भएको छैन। यो आक्रमण दक्षिणी इरानका राडार तथा हवाई प्रतिरक्षा प्रणालीमाथि अमेरिकाले गरेको हवाई कारबाहीको प्रतिशोधस्वरूप गरिएको इरानको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रक्पले हर्मुज जलडमरूमध्य नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनापछि इरानविरुद्ध ‘आत्मरक्षात्मक कारबाही’ को आदेश दिएका थिए। हेलिकोप्टरमा सवार दुवै चालकको भने सकुशल उद्धार गरिएको अमेरिकी पक्षले जनाएको छ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अघाचीले फारसी खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई क्षेत्रीय अस्थिरताको मुख्य कारण भन्दै इरान कुनै पनि नयाँ आक्रमणको ‘निर्णायक र कडा जवाफ’ दिन तयार रहेको चेतावनी दिएका छन्। पछिल्लो घटनाक्रमसँगै जोर्डन, कुवेत र बहराइनले हवाई सुरक्षा सतर्कता बढाएका छन् भने तेल आपूर्ति मार्गका रूपमा विश्वकै संवेदनशील मानिने हर्मुज जलडमरूमध्य पुनः तनावको केन्द्र बनेको छ।
यसले विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको चेतावनी छ। मध्यपूर्वमा युद्धको दायरा अझै फैलिन सक्ने चिन्ताबीच विश्व समुदायले संयमता अपनाउन र तत्काल कूटनीतिक पहलमार्फत तनाव कम गर्न आग्रह गरिरहेको छ।











प्रतिक्रिया