फिफा विश्वकपका बलशालीहरुको नालीबेली 


कविरस शर्मा 

फिफा विश्वकपको २३औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त मैदानमा बिहीबारबाट औपचारिक रूपमा सुरु भइसकेको छ । जसले संसारभरका करोडौँ मुटुको धड्कन तीव्र पारिदिएको छ । विश्व फुटबलकै यो महाकुम्भले यसअघि २२ वटा स्वर्णिम र सनसनीपूर्ण अध्यायहरू पार गरिसकेको छ । जहाँ विश्वका ८० फरक-फरक देशहरूले कडा चुनौती मात्र पस्किएनन्, इतिहासका पानामा आफ्ना आँसु र मुस्कान पनि छाडे । यो लामो, गौरवशाली र ऐतिहासिक यात्रामा पाँच पटकको विश्व विजेता ब्राजिल फुटबल साम्राज्यको निर्विवाद राजा बनेर उभिएको छ । सन् १९३० को पहिलो संस्करणदेखि २०२२ को कतार विश्वकपसम्मका सबै २२ वटा शृङ्खलामा सहभागिता जनाउने ब्राजिल एकमात्र यस्तो सानदार टोली हो । 

ब्राजिलले इतिहासमा सर्वाधिक ११४ खेल खेल्दै ७६ खेलमा विपक्षीको रक्षापंक्ति ध्वस्त पार्दै जित दर्ता गरेको छ भने १९ खेल बराबरी र १९ खेलमा पराजय भोगेको छ । कुल २३७ गोलको विशाल वर्षा गर्दै विपक्षीबाट मात्र १०८ गोल खाएको ब्राजिलको गोलअन्तर प्लस १२९ र ऐतिहासिक अंक २४७ रहेको छ । जसले उसलाई विश्वकप इतिहासकै सबैभन्दा सफल र लोभलाग्दो टोलीको रूपमा उभ्याएको छ । ब्राजिलको यो स्वर्णिम विरासतलाई कडा टक्कर दिने क्रममा चार-चार पटकका विश्वविजेता जर्मनी र इटालीको नाम आउँछन् । तर, समग्र तथ्यांकको दौडमा जर्मनीले इटालीलाई निकै पछाडि छाडेको छ । २० पटक विश्वकपको मञ्चमा उत्रिएको अनुशासन र रणनीतिको पर्याय जर्मनीले ११२ खेल खेल्दै ६८ मा जित, २१ मा बराबरी र २३ मा हारको सामना गरेको छ । 

जर्मनीले २३२ गोलको पहाड खडा गर्दै १३० गोल खाएको छ भने यसको गोलअन्तर १०२ र कुल अंक २४७ रहेको छ । यता उपाधिको संख्यामा इटाली अगाडि देखिए पनि समग्र इतिहासको तराजुमा साविक विजेता अर्जेन्टिना तेस्रो र इटाली चौथो स्थानमा खुम्चिएका छन् । तीन पटकको च्याम्पियन अर्जेन्टिना र इटाली दुवैले १८-१८ पटक विश्वकपको टिकट काटेका छन् ।  तर, जादुमयी अर्जेन्टिनाले ८८ खेल खेल्दै ४७ मा जित निकाल्दा रक्षात्मक खेलका लागि प्रख्यात इटालीले ८३ खेलमा ४५ जित मात्र हात पार्न सकेको छ । 

अर्जेन्टिनाले १५२ गोल गरेर १०१ गोल खाएको छ भने इटालीले १२८ गोल गर्दै ७७ गोल सामना गरेको छ । दुवैको गोलअन्तर प्लस ५१ भए पनि अर्जेन्टिना १५८ अंकका साथ तेस्रो स्थानमा रहँदा इटाली १५६ अंकसहित चौथोमा छ। दुःखद र स्तब्ध पार्ने कुरा, फुटबलको यो विशाल पावरहाउस इटाली युरोपेली छनोट पार गर्न नसक्दा सन् २०१८ र २०२२ को कतार विश्वकपपछि लगातार तेस्रो पटक यस आसन्न विश्वकपमा पनि रङ्गीन मैदानबाहिरै रहनेछ, जुन विश्वभरका फुटबल प्रेमीहरूका लागि ठूलो धक्का हो ।

विश्वकपको यस महागाथामा दुई पटकको च्याम्पियन फ्रान्स कुल १३१ अंकका साथ पाँचौं सफल टोलीको रूपमा दरिएको छ । सन् १९९८ र २०१८ को विजेता फ्रान्सले १६ संस्करणमा ७३ खेल खेल्दै ३९ जित, १४ बराबरी र २० हारको नतिजासहित विपक्षीको पोस्टमा १३६ गोल प्रहार गरेको छ । विश्वकपका कुल २२ उपाधिमध्ये १८ वटा उपाधि त यिनै शीर्ष पाँच टोलीहरूले आपसमै बाँडेर आफ्नो प्रभुत्व जमाएका छन् भने बाँकी ४ उपाधिमा मात्र अन्य तीन देशको भाग्य चम्किएको छ । जसमा फुटबलको जननी मानिने तर सन् १९६६ को एकमात्र विजेता इङ्ल्यान्ड ७४ खेलमा ३२ जित र ११८ अंक बटुल्दै छैटौं स्थानमा छ । 

त्यस्तै, ‘टिकी-टाका’ फुटबलको धनी सन् २०१० को च्याम्पियन स्पेन ६७ खेलमा ३१ जित र ११० अंकका साथ सातौँ स्थानमा सुरक्षित छ । रोचक त के छ भने, दुई पटकको पूर्व विजेता उरुग्वेलाई उछिन्दै तीन पटकको अभागी उपविजेता नेदरल्यान्ड्स आठौँ स्थानमा पर्न सफल भएको छ; डच टोलीले मात्र ११ विश्वकपमा ५५ खेल खेल्दै ३० जित र १०४ अंक जोडेको छ । उता, विश्वकपको पहिलो संस्करण जितेको ऐतिहासिक टोली उरुग्वे भने ५९ खेलमा २५ जित र ८८ अंकका साथ नवौँ स्थानमा छ भने सन् २०१८ मा तेस्रो स्थान हासिल गरेर सनसनी मच्चाएको बेल्जियम ५१ खेलमा २१ जित र ७३ अंकसहित शीर्ष १० को अन्तिम सूचीमा अटाउन सफल भएको छ ।

तर, फुटबलको यो विशाल र रङ्गीन महामञ्च सबैका लागि सुखद र न्यायपूर्ण छैन । यहाँ कतिपय देशहरूका लागि इतिहास निकै निर्मम, निष्ठुरी र स्तब्ध पार्ने खालको पनि छ । विश्वकपको प्रतिष्ठा बोकेर मैदानमा पाइला टेकेका ८० राष्ट्रहरूमध्ये ११ वटा टोली त यस्ता अभागी छन् जसले आजसम्म आफ्नो खातामा एक अंक पनि जोड्न सकेका छैनन् । दुई पटक सहभागी भएका क्यानाडा र एल साल्भाडोरसहित इराक, टोगो, कतार, इन्डोनेसिया, पानामा, युएई, चीन, हाइटी र कंगो जस्ता देशहरू अहिलेसम्म विश्वकपको मैदानमा पूर्ण रूपमा रित्तो हात फर्कन बाध्य भएका छन् । 

अझ निराशाजनक र बिझाउने कुरा त विश्वकपको इतिहासमा कुल २० वटा टोलीहरूले अहिलेसम्म एउटै पनि खेल जितेर उत्सव मनाउन पाएका छैनन् । यसरी जितको मीठो स्वाद चाख्न नपाउने अभागी टोलीहरूमा ३ पटक सहभागिता जनाइसकेका बोलिभिया, इजिप्ट र हन्डुरस, २ पटक खेलेको न्युजिल्यान्ड, तथा १-१ पटक मैदानमा उत्रिएका अंगोला, इजरायल, आइसल्यान्ड, कुवेत र ट्रिनिडाड एण्ड टोबागो जस्ता देशहरू रहेका छन्, जसका लागि विश्वकपमा एउटा मात्र जित निकाल्नु नै अहिलेसम्मकै सबैभन्दा ठूलो र अधुरो सपना बनिरहेको छ ।