लमजुङ।
लमजुङमा निर्माणाधीन मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनालाई लिएर विगत १० वर्षदेखि उठाइँदै आएका माग तथा विवादका विषयमा प्रभावितको तर्फबाट अधिकार मञ्च लमजुङ र नेपाल विद्युत् प्राधिकरण र २२० केभी प्रसारण लाइन बीच सहमति भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको उपस्थितिमा भएको छलफलपछि १२ बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रभावितको तर्फबाट अधिकार मञ्च लमजुङका अध्यक्ष खेमजंग गुरुङ र आयोजनाको तर्फबाट मर्स्याङदी करिडोर २२० केभि प्रसारण लाइन आयोजना प्रमुख नारायण रेग्मीले हस्तक्षार गर्नुभएको छ ।
सहमतिअनुसार भविष्यमा निर्माण हुने आयोजनाहरुमा आदिवासी तथा जनजातिका हकअधिकार सम्बोधन गर्ने गरी स्वतन्त्र, अग्रिम जानकारी सहितको अवधारणालाई आत्मसात गर्ने, मानव बस्ती, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थललाई न्यूनतम असर पर्ने गरी प्रसारण लाइन निर्माण गर्ने तथा प्रभावित जग्गाधनीका समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ ।
टावरमुनिको जग्गामा शतप्रतिशत मुआब्जा उपलब्ध गराउने तथा तारमुनि पर्ने जग्गाको क्षतिपूर्तिका विषयमा स्थानीयको मागलाई समन्वयमार्फत सम्बोधन गर्ने सहमति भएको छ । साथै मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्दा कानुनअनुसार जग्गाधनीलाई अधिकतम सहज हुने व्यवस्था मिलाइने भएको छ ।
आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम प्रभावित समुदायको सहभागितामा सञ्चालन गर्ने, बजेट तथा खर्च विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने तथा जोखिममा रहेका समुदायलाई विशेष प्राथमिकता दिने निर्णय पनि गरिएको छ ।
त्यस्तै प्रसारण लाइनबाट कुनै मानवीय, पशुपन्छी वा वातावरणीय क्षति भए प्रचलित कानुन तथा नेपाल विद्युत् प्राधिकरणको क्षतिपूर्ति निर्धारण समितिको निर्णयअनुसार क्षतिपूर्ति उपलब्ध गराइने सहमति भएको छ ।

सहमतिसँगै स्थानीय पक्षले निर्माण कार्यमा सहयोग गर्ने र आयोजनाको काममा अवरोध पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता जनाएको छ ।
सहमतिपछि हालसम्म अवरुद्ध रहेको आयोजनाको निर्माण कार्य अब निर्वाध तथा सहज रुपमा अगाडि बढ्ने अधिकार मञ्च लमजुङका अध्यक्ष खेमजंग गुरुङले बताउनुभयो । उहाँले लामो समयदेखि उठाइँदै आएका स्थानीयका माग सम्बोधन हुने विश्वासका साथ सहमति भएको र अब आयोजनाको काममा कुनै अवरोध नहुने उल्लेख गर्नुभयो ।
लामो समयदेखि रोकिएको लमजुङ खण्डको प्रसारण लाइन निर्माण कार्य अब पुनः अघि बढ्ने भएको छ । मनाङ, लमजुङ र भरतपुर जोड्ने करिब ११२ किलोमिटर लामो लाइन निर्माण भएपछि विभिन्न पिपिएहरुबाट उत्पादन हुने विद्युत् खेर नजाने मर्स्याङदी करिडोर २२० केभि प्रसारण लाइन आयोजना प्रमुख नारायण रेग्मीले बताउनुभयो ।











प्रतिक्रिया