यो परिवर्तन हैन, प्रतिक्रान्ति हो– नेकपा नेता विशाल खड्का

376
Shares

दोलखा। 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज विशाल खड्काले वर्तमान सरकार जेन– जी आन्दोलनको भावना अनुसारको नभएको बताएका छन् । अहिलेको अवस्था परिवर्तन नभै प्रतिक्रान्ति भएको उनको टिप्पणी छ ।

नेकपा दोलखाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य खड्काले वर्तमान सरकारले विगतमा लोकतन्त्रका लागि संघर्ष गरेका संघ– संस्थाहरुलाई कमजोर बनाएको उल्लेख गर्दै यसले समग्रमा लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताए । 

केन्द्रीय सदस्य खड्काले संसदमा अहिले दुई तिहाइको दम्भ देखिएको उल्लेख गर्दै यसले भयङ्कर निरंकुशताको संकेत गरेको बताए । अहिलेको अवस्था हेर्दा सरकार दल विहीन राजनीतिको रिहर्लसनमा लागेको छनक देखिने खड्काको आशंका छ । उनले जित्नेसंग नागरिकले अभिभावकत्व पाउन नसकेको समेत बताए । 

पत्रकार सम्मेलनमा नेकपाका दोलखा संयोजक अशोक दहालले पार्टीले आगामी भदौ महिनासम्म जिल्लाको नौ वटै पालिकामा पालिका अधिवेशन गरीसक्ने र ती अधिवेशनहरुमा नेतृत्वको लागि युवाहरुलाई अधिकतम अवसर दिने बताए । उनले पार्टीले एक हजार युवा उद्यम अभियान सञ्चालन गर्ने समेत बताए । 
कार्यक्रममा नेकपाका जिल्ला सह– संयोजक एवम् राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, बागमती प्रदेश अध्यक्ष भीम दहाल, जिल्ला सह– संयोजक कमल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।