प्रशिक्षक किशोर खत्रीको नेतृत्वमा बक्सिङ टिम हेटौंडा जाने


काठमाडौं ।

अनुभवी बक्सिङ प्रशिक्षक किशोर खत्री केसीको नेतृत्वमा १९ सदस्यीय काठमाडौं बक्सिङ टिम हेटौंडा जाने भएको छ ।

काठमाडौंमा सम्पन्न जिल्ला स्तरीय विशेष छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै १९ सदस्यीय काठमाडौं बक्सिङ टिमको घोषणा गरिएको हो । आगामी असार ३ देखि ८ गतेसम्म मकवानपुरको हेटौंडामा आयोजना हुने तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितालाई लक्षित गरी यो टोली तयार पारिएको हो । काठमाडौं जिल्ला बक्सिङ संघको ब्यानरमा आयोजित उक्त छनोट स्पर्धामा राजधानीका १८ वटा प्रतिष्ठित बक्सिङ क्लबहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

तारकेश्वर बक्सिङ क्लब (स्युचाटार), थानकोट बक्सिङ क्लब (टोटिटोल), केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्र (दशरथ रंगशाला/नेपाल युथ), नक्साल बक्सिङ क्लब, आरडीएस बक्सिङ क्लब (विशालनगर) र शर्मा फिटनेस लगायतका केन्द्रहरूबाट रिङमा उत्रिएका प्रतिभावान मुक्केबाजहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । आ–आफ्‌नो तौल समूहमा उत्कृष्ट सावित हुँदै महिलातर्फ ५ र पुरुषतर्फ १३ गरी कुल १८ जना खेलाडीहरू प्रादेशिक प्रतियोगिताका लागि राष्ट्रिय राजधानीको प्रतिनिधित्व गर्दै रिङमा उत्रिने सुनिश्चित भएको हो ।

हेटौंडामा हुने प्रादेशिक महाकुम्भमा काठमाडौंको चुनौतीलाई सशक्त बनाउन टोलीको मुख्य प्रशिक्षक एवं टिम कोचको जिम्मेवारी अनुभवी बक्सिङ प्रशिक्षक किशोर खत्री केसीलाई सुम्पिएको छ । नागार्जुन नगरपालिका–१० निवासी केसी लामो समयदेखि नेपाली बक्सिङ वृत्तमा निरन्तर सक्रिय रहँदै तारकेश्वर बक्सिङ स्युचाटार र नेपाल युथ बक्सिङ लगायतका केन्द्रहरूमा प्राविधिक प्रशिक्षण दिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पदक विजेता खेलाडीहरू उत्पादन गरेर नेपाली खेलकुदमा विशिष्ट योगदान पुर्‍याएका प्रशिक्षक केसीको नेतृत्वमा काठमाडौंले कसिलो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । यसैबीच, प्रादेशिक प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गर्ने विश्वासका साथ काठमाडौं टोलीको बिदाइ गरिएको छ ।

बिदाइ कार्यक्रममा नगर प्रमुख शुसिला अधिकारी, वडा अध्यक्ष सुन्दर केसी तथा स्थानीय नगरपालिकाका अन्य विशिष्ठ पदाधिकारीहरूले प्रशिक्षक केसी र समग्र टोलीलाई खादा ओढाउनुका साथै मायाको चिनो प्रदान गर्दै सुखद यात्रा र जितको शुभकामना व्यक्त गरे । हेटौंडामा स्वर्ण पदकको बलियो दाबेदार मानिएको काठमाडौंको यस टोलीमा साजन थापा मगर, अनिकेत न्यौपाने, मदन कृष्ण डंगोल, सुलभ डंगोल, सन्दिप खनखवास ठकुरी, विवेक डंगोल, शक्ति श्रेष्ठ, सविन सिलवाल, सम्येक महर्जन, कुशल सुनार, रासिब जारी, दिपशन शाही, शाहिल महर्जन, रमिशा श्रेष्ठ, सुष्मा तामाङ्ग, युगिन शर्मा, देवकला राणा गुरुङ्ग, सुजाता आले मगर र टिम कोच किशोर खत्री रहेका छन्। जिल्ला छनोटका आधारमा चुनिएका यी खेलाडीहरूले प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा हुने खेलमा अन्य जिल्लाका उत्कृष्ट प्रतिस्पर्धीहरूसँग भिडन्त गर्नेछन् ।