‘मौसमी प्रकोप’ बन्दै डेंगु

हरेक वर्ष बढ्दो संक्रमण, सरकारको तयारी अझै कमजोर

1.32k
Shares

काठमाडौं ।

नेपालमा पहिलोपटक सन् २००४ (वि.सं. २०६१) मा चितवन जिल्लाबाट फैलिएको डेंगु संक्रमण अहिले देशव्यापी चुनौती बनेको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै डेंगुका बिरामी बढ्ने क्रम दोहोरिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार डेंगु अब आकस्मिक प्रकोपमात्र नभई नेपालमा ‘मौसमी प्रकोप’का रूपमा स्थापित भइसकेको छ ।

नेपालमा डेंगुका बिरामी असारदेखि बढ्न थाल्ने, साउन–भदौमा तीव्र हुने र असोज–कात्तिकमा चरम अवस्थामा पुग्ने गरेका छन् । विगतका वर्षहरूमा पनि यही समयमा स्थानीय तह र अस्पतालहरूमा बिरामीको चाप बढ्ने गरेको थियो । यस वर्ष पनि मनसुन सक्रिय भएसँगै स्वास्थ्य संस्थाहरूले उच्च सतर्कता अपनाउन थालेका छन् । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण लामो वर्षा, तापक्रम वृद्धि र पानी जम्ने अवस्था बढेकाले आगामी महिनामा संक्रमण अझ बढ्न सक्ने जोखिम छ ।

डेंगु महामारीका कारण सन् २०२२ नेपालका लागि सबैभन्दा भयावह वर्ष बनेको थियो । त्यतिखेर ७७ वटै जिल्लामा संक्रमण फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो । त्यसपछि पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । २०२३ र २०२४ मा केही कमी आए पनि डेंगुको जोखिम कायमै रहेको विज्ञहरूको भनाइ छ ।

डेंगु संक्रमित भएपछि अचानक उच्च ज्वरो आउने, टाउको धेरै दुख्ने, आँखाको पछाडिपट्टि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, शरीरमा रातो बिमिरा देखिने र अत्यधिक थकान महसुस हुने गर्छ । धेरैजसो बिरामी केही दिनमै निको हुन्छन् । तर, केही अवस्थामा गम्भीर डेंगु हुन सक्छ, जसमा रक्तश्राव हुने, रक्तचाप घट्ने र शरीरका अंगहरू प्रभावित हुने जोखिम हुन्छ । यस्तो अवस्थामा तुरुन्त अस्पतालमा उपचार आवश्यक हुन्छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि मात्र रोग सर्छ ।

नेपालमा डेंगु उपचारका लागि विशेष औषधि उपलब्ध छैन । समयमै पहिचान, तरल पदार्थ व्यवस्थापन र जटिल अवस्थाको उपचार नै मुख्य उपाय हो । त्यसैले प्राथमिक स्वास्थ्य केन्द्रदेखि ठूला अस्पतालसम्म आवश्यक जनशक्ति, परीक्षण सामग्री र उपचार प्रोटोकलको उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सन् २०२५ मा २०२२ को दाजोमा डेंगु संक्रमणमा केही कमी आएको थियो । सन् २०२३ मा धरानमा धेरै फैलियो । सन् २०२४ र २०२५ मा धरान र काठमाडौंमा बढी संक्रमित देखियो । यो वर्षमा नेपालको इतिहासमा हेर्दा फेरि डेंगु सक्रिय हुन सक्छ ।

डेंगु हरेक २ देखि ३ वर्षमा बढ्दै गएको देखिन्छ । २०१९ मा काठमाडौंमा धेरै भयो । अब २०२६ मा पनि बढ्ने र जटिल अवस्था बन्न सक्छ । विश्वमा ३ देखि ५ वर्षमा यस्ता रोगहरू बढ्ने आधार मानिन्छ । नेपालमा डेंगु अब कुनै पनि समयमा ‘आउटब्रेक’ हुनसक्ने सम्भावना देखिएको छ ।