इरान–अमेरिका युद्ध अन्त्यतर्फ ? ट्रम्पको दाबी– ‘ठूलो सहमति नजिक’, इरानको प्रतिक्रिया– ‘अहिलेसम्म केही टुंगिएको छैन’


वाशिङ्टन/तेहरान ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले महत्वपूर्ण सहमति नजिक पुगेको दाबी गरेका छन्। बिहीबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानसँगको द्वन्द्व समाधानका लागि सकारात्मक प्रगति भएको बताएका हुन्।

ट्रम्पले केही घण्टाअघि मात्र इरानमाथि कडा सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका थिए। तर त्यसपछि उनले प्रस्तावित आक्रमण रद्द गरिएको जानकारी दिँदै युद्ध अन्त्यतर्फको कूटनीतिक प्रयास सफल हुन लागेको संकेत गरेका छन्। तर इरानले भने अमेरिकी दाबीप्रति सावधानीपूर्ण प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै सम्झौताबारे बाहिर आएका समाचारहरू अनुमानमा आधारित रहेको र हालसम्म कुनै अन्तिम सहमति नभएको स्पष्ट पारे।

गत फागुन १६ गते अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि व्यापक आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको थियो। त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

यसैबीच, इरानले विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा जहाज आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा समेत असर परेको छ। युद्ध रोक्न विभिन्न माध्यमबाट कूटनीतिक पहल जारी रहे पनि अमेरिका र इरानबीच औपचारिक सम्झौता भएको पुष्टि अझै भएको छैन। त्यसैले मध्यपूर्वको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको र क्षेत्रीय तनाव कायम रहेको विश्लेषण गरिएको छ।