काठमाडौं ।
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा गोलसँगै रातो कार्डको वर्षा देखिएको छ । तीन खेलाडीले रातो कार्ड बेहोरेको खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका रंगशालामा करिब ८१ हजार दर्शकमाझ सम्पन्न खेलमा घरेलु टोलीले सुरुदेखि नै दबाब कायम राख्यो ।
खेलको नवौं मिनेटमा जुलियन किनोनेसले गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्ने गौरव हासिल गरे । पहिलो हाफ १–० ले अघि रहेको मेक्सिकोका लागि दोस्रो हाफमा अनुभवी स्ट्राइकर राउल हिमिनेजले ६६औँ मिनेटमा हेडरमार्फत गोल थपे । चौथो पटक विश्वकप खेलिरहेका हिमिनेजका लागि यो विश्वकप करिअरकै पहिलो गोल रह्यो । खेलको अन्त्यतिर भने तनाव चुलिँदा रातो कार्डको वर्षा भयो । दक्षिण अफ्रिकाका मिडफिल्डर स्फेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो ।
इन्जुरी समयमा मेक्सिकोका रक्षक सेजार मोन्टेसले पनि रातो कार्ड बेहोर्दा उद्घाटन खेल तीन रातो कार्डसहित विवाद र तनावले भरिएको बन्यो । हिमिनेजको अन्तर्राष्ट्रिय फुटबल करिअरको यो ४६औँ गोल हो । उनी अब मेक्सिकोका सर्वाधिक गोलकर्ता हाभियर हर्नान्डेज ‘चिचारिटो’को कीर्तिमानभन्दा केवल ६ गोलले पछाडि छन् । जितसँगै मेक्सिकोले समूह ‘ए’ मा तीन अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।
अब मेक्सिकोले अर्को बिहीबार दक्षिण कोरियासँग खेल्नेछ भने दक्षिण अफ्रिकाले चेक गणतन्त्रको सामना गर्नेछ । उद्घाटन खेलमै प्रभावशाली प्रदर्शन गरेको मेक्सिकोले उपाधि दाबेदारी प्रस्तुत गर्दा रातो कार्डको वर्षाले खेललाई थप चर्चित बनाएको छ ।











प्रतिक्रिया