१ करोड २६ लाख भ्रष्टाचारको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

कम दरको प्रस्ताव दबाएर महँगोमा ठेक्का

940
Shares

काठमाडौं ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा मिलेमतो गरी १ करोड २६ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सो केन्द्रका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दामा झासहित इन्जिनियर अशोककुमार सिंह, सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्याकुमारी रजक प्रतिवादी बनाइएको छ ।

सबै प्रतिवादीसँग बिगोबमोजिमको रकम असुलउपर गर्न तथा कानुनबमोजिम कैद र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा २ करोड ८९ लाख रुपियाँमै निर्माण गर्न तयार कम्पनीको प्रस्ताव थन्क्याएर ४ करोड १६ लाख रुपियाँमा ठेक्का सम्झौता गरी सप्तरीस्थित भेटेरिनरी अस्पताल भवन निर्माण गरेको पाइएको बताएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भन्नुभयो– ‘भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा मिलेमतो गरी १ करोड २६ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार भएको अहिलेको अनुसन्धानले देखाएको छ ।’

अख्यितारका प्रवक्ता न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९÷८० मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजको भवन निर्माणका लागि ४ करोड ४९ लाख ९८ हजार २ सय ७२ रुपियाँ लागत अनुमान तयार गरिएको थियो । उक्त ठेक्काका लागि राष्ट्रिय स्तरको खुला बोलपत्र आह्वान गरिएको देखाइए पनि वास्तविक रूपमा सूचना प्रकाशन नगरी नक्कली पत्रिकाको प्रति तयार गरेर प्रक्रिया अघि बढाइएको अनुसन्धानबाट खुलेको छ ।

सार्वजनिक खरिदको प्रारम्भिक चरणमा नै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी, एजेन्सी तथा व्यवसायीको आपसी मिलेमतोमा भवन निर्माण कार्य भएको पाइएको अख्तियारका प्रवक्ता न्यौपानेले बताउनुभयो ।
सार्वजनिक खरिद नियमावलीविपरीत श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नै नखोली राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत गरिएको जनाएको छ । सो कार्य सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६५ मा निर्माण कार्यको बोलपत्रको विशेष मूल्यांकनको उपनियम (४घ१) को व्यवस्थाविपरीत रहेको छ ।

पछि पुनरावलोकन प्रक्रियाका क्रममा श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव खोल्दा सो कम्पनीले २ करोड ८९ लाख ६४ हजार २ सय ४१ रुपियाँमा काम गर्न प्रस्ताव गरेको देखिएको थियो । तर, राधाकृष्ण निर्माण सेवासँग भने ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपियाँमा सम्झौता गरिएको पाइएको छ । राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत गर्ने गरी गलत मूल्याकंन प्रतिवेदन दिएको थियो ।

बोलपत्रदाता श्री राम निर्माण सेवा डुमरिया (पो) ७ रौतहटले प्राविधिक तथा आर्थिक मूल्याङ्कन पुनरावलोकन गर्न २०७९ चैत्र ३० मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा निवेदन पेस गरेकोमा उक्त निवेदनका सम्बन्धमा केही गरिरहनु नपर्ने भनी निर्णय गरिएको थियो ।

दुवै प्रस्तावबीच १ करोड २६ लाख ९६ हजार २ सय ६८ रुपियाँ ७१ पैसाको अन्तर रहेको र सोही रकम बराबर सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुगेको अख्तियारको दाबी छ ।