खोटाङ।
खोटाङको ग्रामीण परिवेशमा जन्मिएर नेपाली गीत–संगीत, कविता र मौलिक संस्कृतिको क्षेत्रमा झण्डै चार दशक योगदान पु¥याएका प्राज्ञ टीका चाम्लिङको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका प्राज्ञ चाम्लिङको ५३ वर्षको उमेरमा गत शनिवार राती निधन भएको हो।
यसअघि क्यान्सरवाट बच्दै आए पनि पछिल्लो पटक शरीरको अर्को भागमा समेत क्यान्सर देखिएपछि चाम्लिङको बी एण्ड बी अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो। पूर्वी पहाडी जिल्लामा जन्मिएर राष्ट्रियस्तरमा साहित्यिक पहिचान स्थापित गरेका चाम्लिङले गीत र कवितामार्फत समाज, संस्कृति र मौलिक पहिचानलाई अभिव्यक्त गर्दै आएका थिए। लामो समयदेखि गीत, कविता र संस्कृतिको क्षेत्रमा सक्रिय चाम्लिङका सैहँमा, जाउँ : संगी गाउँ घरैमा, आलु तामाले, मरिलानु के छ र, बाटैमा घाम जूनलगायत दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन्। राजेशपायल राई, यम बराललगायतका चर्चित गायक–गायिकाले चाम्लिङका गीतबाट थप चर्चा बटुलेका थिए। उनको कतिपय गीत रेकर्ड भएर पनि सार्वजानिक नभएको र कतिपय गीत, कविताहरू डायरीमै रहेको छ।
टीका चाम्लिङका सधैंभरि, राखौं सम्झना, सपनाको रङ, मयको रङ, जूनको बस्ती, मुन्दुम र मालिंगो, बागी कवितालगायतका कृति प्रकाशित छन् । दुई सयभन्दा बढी गीतलाई स्वर र संगीतको माध्यमबाट श्रोतामाझ पु¥याएका उनले २०६१ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत–संगीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको पुरस्कार प्रँप्त गरेका थिए। त्यस्तै, २०७५ सालमा राष्ट्रव्यापी बाल गीत–संगीत सम्मेलनमा पनि सर्वोत्कृष्ट गीतकार घोषित भएका थिए।
बहुप्रतिभावान चाम्लिङले २०७२ सालमा खोटाङ सेवा समाज बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार र २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मानलगायतका दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए। चाम्लिङ राई राखमिहँछा उत्थान समाजको संस्थापक उपाध्यक्ष रहेका चाम्लिङ रावासावा प्राज्ञिक समाजलगायत बिभिन्न साहित्यिक, सांस्कृतिक तथा भाषिक संघसंस्थामा आबद्ध थिए।
काठमाडौँमै वसोबास गर्दै आएका चाम्लिङका श्रीमती र एक छोरा रहेको आफन्त सुरेश राईले बताए।








तपाईंको विचार लेख्नुहोस्