काठमाडौं ।
पुएर्टो रिकोकी जेनिफर बारेतो मिस युनिभर्स २०२६ बनेकी छन्। नोभेम्बर २५ मा पुएर्टो रिकोको राजधानी सान जुआनस्थित कोलिसेओ जोसे मिगुएल अगरेलोटमा सम्पन्न ७५औँ संस्करणको प्रतियोगितामा उनले विश्वका ११६ देश तथा क्षेत्रका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
२७ वर्षीया बारेतोको जितसँगै पुएर्टो रिकोले २० वर्षपछि मिस युनिभर्सको ताज पुनः आफ्नो देशमा भित्र्याएको छ। यसअघि पुएर्टो रिकोले सन् १९७०, १९८५, १९९३, २००१ र २००६ मा मिस युनिभर्सको उपाधि जितेको थियो। यो जितसँगै पुएर्टो रिकोको उपाधि संख्या छ पुगेको छ।
बारेतोको जित यसपटक विशेष चर्चामा रह्यो। उनी विवाहित तथा एक सन्तानकी आमा हुन्। मिस युनिभर्स प्रतियोगितामा विवाहित महिला तथा आमाहरूले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था लागू भएपछि उनले उपाधि जित्ने पहिलो आमाका रूपमा इतिहास बनाएकी छन्।
उनले मनोविज्ञान र क्लिनिकल सामाजिक कार्यमा दुईवटा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनी मानसिक स्वास्थ्य, घरेलु हिंसा रोकथाम तथा बाल संरक्षणजस्ता विषयमा समेत काम गरिसकेकी छन्।प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो उपविजेता बनिन्। भेनेजुएला, फिलिपिन्स र न्युजिल्यान्डका प्रतिस्पर्धी पनि अन्तिम पाँचमा पुगेका थिए।यसअघि जुन २५ मा बारेतोले मिस युनिभर्स पुएर्टो रिको २०२६ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले आफ्नै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक प्रतिनिधि तथा होस्ट क्विनको भूमिका निर्वाह गरेकी थिइन्। अन्ततः आफ्नै भूमिमा भएको विश्वस्तरीय प्रतियोगितामा उनी मिस युनिभर्सको ताज पहिरिन सफल भएकी छन्।








तपाईंको विचार लेख्नुहोस्