विष्णु माझीको स्वरमा फूल प्याउलीको


नेपाली लोकसंगीत क्षेत्रकी लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोकदोहोरी गीत फूल प्याउलीको सार्वजनिक गरिएको छ। गीतकार नवराज पन्तका मनछुने शब्द रहेको गीतमा गायक तथा संगीतकार वसन्त थापाले संगीत भरेका छन्। गीतमा माझीलाई स्वरमा पनि थापाले साथ दिएका छन्।

डाँडै फुर्के सल्लो र सालको पातको टपरी स्ता लोकप्रिय गीतमा सहकार्य गरेका माझी, थापा र पन्तको केही समयको अन्तरालपछि आएको सहकार्यले लोकसंगीतप्रेमीलाई फेरि मौलिक स्वाद दिएको छ। डान्सिङ शैलीसमेत समेटिएको गीत एसएस सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमका भावलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

विदेश र सहरको जीवनबाट दिक्क भएर आप्mनै गाउँठाउँ प्यारो लाग्ने भाव गीतमा व्यक्त गरिएको छ। गाउँका फूल, परिवेश र प्राकृतिक सौन्दर्यको वर्णनले गीतलाई थप आत्मीय बनाएको छ। विष्णु माझीको जादुमय स्वर र बसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ।

गीतको भिडियो पनि निर्माण गरिएको छ। भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य रहेको छ। लाहुरे गाउँ फर्किएको परिवेशसँगै मेलापात, घाँसदाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई भिडियोमा आकर्षक ढंगले समेटिएको छ।

हिमशृंखला तथा रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएका दृश्यले भिडियोको सौन्दर्यलाई थप आकर्षक बनाएको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। नवराज उप्रेतीले छाया“कन गरेको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्। गीतका निर्माता अर्जुन बोहरा हुन्।