नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न


नेपालगञ्ज।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो प्रविधि र व्यावसायिक परिवेशअनुसार कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्। कर्मचारीको क्षमता तथा दक्षता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने र त्यसले व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ थियो।

सो अवसरमा कार्यसम्पादनका आधारमा ‘उत्कृष्ट कर्मचारी पुरस्कार–२०८३’ प्राप्त गर्ने सात जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा इटहरीका शिवेश ठाकुर, बर्दिबासकी गीता कुमारी थिङ, काठमाडौंकी रुक्मणी कुमारी शर्मा, विरौटाका अनिल श्रेष्ठ, नेपालगञ्जका सुवासमणि पोखरेल र प्रमिला मल्ल तथा जाजरकोटका विष्णुजंग शाही रहेका छन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षणसमेत दिइएको थियो। नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।

त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए।

कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिलाई लक्षित गरी कार्यक्रममा विभिन्न अतिरिक्त गतिविधिसमेत सञ्चालन गरिएको थियो। सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए।

त्यस्तै, विभागीय प्रमुखहरूसँग समूहगत छलफल, कर्मचारीबीच परीक्षा तथा फुटसल, टेबलटेनिस र डोरी तान्ने खेल प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो। चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।